• शनिबार-असोज-५-२०८१

लकडाउनले गाडी चलाउन नपाएर बिजोग भयो, किस्ता कसरी बुझाउने ? 

 

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउनले यातायात व्यवसायीहरु ठूलो मारमा परेका छन् । दैनिक गाडी चलाएर गुजारा गर्नेलाई गासकै चिन्ता थपिएको छ भने ऋण लिएर गाडी चलाउने व्यवसायीलाई किस्ता कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । 

 

यसरी नै छट्पटिएका छन् बा ५ ख ७६६५ नम्बरको गाडीका स्वरोजगार चालक मिनबहादुर गुरुङ्ग । 

 

उनले साँघुसंग चिन्तित हुँदै भने, ‘काठमाडौंमा बसिएको छ । कोठामै कोचिएर बस्नु परेको छ । अप्ठेरो भइसक्यो । खाने बस्ने बाहेक केही भएन ।’

 

खानका लागि पुगेको छ त ? भन्ने जिज्ञासामा उनले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्यो नि । अहिलेसम्म पुराएको छु । अब गाह्रो छ ।’

 

सरकारले राहत पनि दिएको छ भन्छ नि त लिनु भएको छैन ? भन्ने जिज्ञासामा उनले भने, ‘राहत अहिलेसम्म लिएको छैन । मैले त राहतै पाइन ।’

 

नचाहिएर कि लिन नगएर ? भन्ने प्रश्नमा उनले भने, ‘म सामाखुशी खरिबोटमा बस्छु । पहिले फर्म बुझाइएन । खान पुगेकै थियो । पछि गएको थिएँ । नागरिकतासमेत लिएर गएँ । तर दिएनन् । घरबेटीको पुरापुर विवरण चाहियो भने । घरबेटी कहाँ बस्छ । के गर्छ हामीलाई के थाहा । मैले त अनि राहतको फर्म भोरिन । पाइएन भनौं न ।’

 

अब के गर्ने त ? भन्ने प्रश्नमा उनले भने, ‘हेरौं केही दिनलाई त खान पुग्ला । त्यसपछि विचार गरौंला ।’

 

यो लकडाउनमा कतै जानु भएन ? भन्ने प्रश्नमा उनले भने, ‘घर त गोर्खा हो जानै पाइएन । लकडाउन भैहाल्यो । जानै पाइएन । भाडाको कोठामै खुम्चिएर बस्नु पर्यो ।’

 

गाडीहरु चलेका छन् नि रिजर्भमा चलाउनु भएन ? भन्ने प्रश्नमा उनले भने, ‘खोइ कसैले पनि त्यस्तो त बताएनन् । हाम्रो पहुँच पनि पुगेन । घरमै बस्यो खायो मात्र भयो ।’

 

परिवारलाई समय दिन पाउनु भएको छ राम्रो भयो नि हैन ? भनी जिज्ञासा राख्दा उनले भने, ‘परिवारसंगै काठमाडौंमा बसेपछि दिनपरि गाडी चलाए पनि राति त संगै भइन्थ्यो नि । त्यो के ठूलो कुरो भयो र । तर मनमा चिन्ता बढेको छ ।’

 

कस्तो चिन्ता ? भन्ने प्रश्नमा उनले भने, ‘एक महिना भन्दा बढी समय गाडी थन्किएको छ । चलाउन पाइएन । किस्ता तिर्ने समय पनि गयो । पैसा छैन । अस्ति किस्ताको के हुन्छ भनी सोध्नलाई फोन गरेको थिएँ । राम्रोसंग बुझिएन । अब के हुने हो थाहा छैन । चिन्ता लाइराछ ।’

 

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी सरकारले गएको चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेको छ । दुई पटक थपेर बैशाख १५ गतेसम्म पुर्याएको छ । दैनिक काम गरेर खानेहरुलाई भने यसले ठूलो समस्यामा पारेको छ । 

 

सरकार, निजी तथा सामाजिक संस्थाहरुले राहत बाँडिरहेको बताए पनि सीमित व्यक्तिसम्म मात्र पुगेको गुनासो आइरहेको छ । 
 

प्रतिकृया दिनुहोस