• बिहीबार-फाल्गुण-१-२०८१

विद्यार्थी बेलामा यस्ता थिए नारायणकाजी श्रेष्ठ 

 

 जो कोहीले पनि फुर्सदको समयलाई सदुपयोग    गर्न चाहेको हुन्छ र गरेको पनि हुन्छ । त्यसमा पनि अवकाश प्राप्त ब्यक्तिलाई त समयको लागि कुनै बन्देज हुने भएन पनि । म यसैभित्रको एउटा पात्र । उमेरले नेटो काटिसकेको अवकाश वाला । दिमागमा धेरै कुरा खेलिराखे पनि मलाई भने फुर्सदको समयलाई कत्ति पनि खेर फाल्न मन लागेको हुँदैन र केही न केही लेख्ने पढ्ने काम गरिरहेकै हुन्छु । संधै कति पत्रपत्रिका पढ्ने भन्ने मनमा कुरो आयो र केही लेखुँ जस्तो लाग्यो । लेख्ने विषय धेरै भएपनि विषय एकिन गर्न अप्ठेरो परेको महसुस भएको हुँदा केही बेर घोत्लिन पुगें ।


 एउटा समाचारमा ध्यान गयाे । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित  । प्रतिद्वन्द्रँ नेपाली कंग्रेसका सूर्यप्रसाद रेग्मीलाई १२१८ को फरक मतले पराजीत गरी निर्वाचित भएको सुन्दा म झनै खुशी भएकाे थिएँ । २०७४ सालमा गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभा चुनाबमा बाबुराम भट्टराईसंग पराजीत भएकोमा अहिले राष्ट्रि्य सभामा निर्वाचित भएको खबरले खुशी हुनु स्वभाविकनै थियो । अहिले उनै नारायणकाजीको विषयमा केही लेख्न मन लाग्यो, किनकि उनी मेरा विद्यार्थी थिए ।


२०३०/०३१ सालतिर मैले गोरखाको जौबारी हाई स्कूलमा अध्यापन गरेको हुँदा यही विषयबस्तु बनाउने विचार गरें । त्यस समयमा मैले  नारायणकाजी श्रेष्ठ जस्ता मेधावी विद्यार्थी पढाउन पाएकोमा अझसम्म पनि खुशी लागेर आउँछ । अहिले पनि प्रसंगवस कहीँकतै कुरा गर्दा मैलै नारायणकाजीलाई पढाएको हुँ भन्दा अचम्म मानेर जिब्रो टोकेका घटना धेरै नै छन् । 


मैले उनलाई कक्षा ९ र १० मा पढाएको थिएँ । उनको तीक्ष्ण प्रतिभा भएको कारणले उनीले सोधेका प्रश्नहरु मेरो लागि धेरै नै जटिल हुन्थे । खासगरी गणित पढाउँदै जाँदा यो हिसाब गरी दिन पर्यो भन्ने गर्दथे । जुन हिसाब दुई तीन दिनपछि मात्र पढाउनु पर्ने मेरो अनुमान हुने गर्दथ्यो । तर, तुरुन्तै पढाउन म पनि असमर्थ हुन्थें र भोलि गरौंला है भनेर टार्ने काम धेरै पटक मैले गरेको थिएँ । भोलिको कक्षाको लागि अघिल्लो दिनमा मैले धेरै नै अध्ययन गरेर कक्षा प्रवेश गरेको हुन्थें । वास्तवमा नढाँटीकन भन्नु पर्दा हिसावमा नारायणकाजी म भन्दा कम थिएनन् । उनीलाई पढाउने कामले गर्दा मेरो परिश्रम गर्ने बानी बस्यो र प्राय जसो अहिलेसम्म पनि मेरो साथमा कितापकापी रहेकै हुन्छन् । साथै ल्यापटप पनि ।


मैले जौबारी हाई स्कूलमा अध्यापनगर्न छोडेर निजामती सेवामा प्रवेश गरी सकेपछि पनि नारायणकाजी( पछि प्रकाश)लाई मैले कहिले बिर्सन सकिन । बेलाबेलामा मलाई उनको सम्झना आईनै रहेको हुन्थ्यो र उनको एसएलसीको नतिजा कस्तो भयो होला भन्ने खुल्दुली मनमा रहेकै हुन्थ्यो । एक पटक उनीसंगै अध्ययनगर्ने विद्यार्थी भेट भए र मैले नारायणकाजीको एसएलसी कस्तो भयो भनेर सोधेको थिएँ । उसले गर्नु गर्यो नि सर, गणितमा त १०० मा १०० नै ल्याएछ भन्दा मलाई धेरैनै खुशी लाग्यो ।

 

मैले धेरै विद्यार्थीलाई पढाए पनि उनलाई मात्र सोध्नुको कारण थियो, उनको असाधारण प्रतिभा । उनको गणितमा मात्र होइन अन्य विषयमा पनि त्यत्तिकै राम्रो दखल थियो । त्यसपछिका दिनहरुमा मन मनै विचार गर्दै जान्थे, मैले परिश्रम गरेर पढाएको विद्यार्थीले १०० मा १०० नै अंक ल्याएकोमा अझसम्म पनि म आफूलाई धन्य सम्झन्छु र कतै कुरा गर्दा नारायणकाजी मेरो विद्यार्थी हुन् भन्न पुगेको हुन्छु पनि ।


त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये नारायणकाजी १ नं. मानै गनिन्थे र अरु विद्यार्थी शिक्षकदेखि केही हदसम्म डराउँथे भने उनी आफ्नो जायज कुरामा निडर पनि थिए । सायद उनी निडर हुनुमा उनको आफ्नै क्षमताको कारणले पनि हुन सक्दछ । उनका साथीहरु पनि उनकै अनुयायी थिए । त्यस बेलामा पनि उनले साथीभाईहरुको नेतृत्व गरेका हुन्थे । हामी शिक्षक बर्ग पनि नारायणकाजीदेखि केही सचेत नै हुन्थ्यौ । यस प्रकारले नारायणकाजीको ब्यक्तित्वको प्रभाव विद्यार्थी र शिक्षकमा पनि पर्न गएको थियो ।


००००००००००००००००००


धेरै बर्ष पछि एकदिन विशेष काम लिएर सिंहदरवार गएको थिएँ । काम सकिए पछि  कहां जाउँ कहाँ जाउँ जस्तो लागेर आयो । त्यसबेला भरखर परराष्ट्र मन्त्रालय शीतलनिवासबाट सिंहदरवार सरेको थियो । मलाई त्यहाँ जान सहज हुने भएकोले उनीलाई भेट्न गएँ । निजी सचिवसंग भेट्नको लागि अनुरोध गर्दा अहिले उहाँलाई फुर्सद छैन, भोलि विदेश जाँदै हुनुहुन्छ । उहाँ फर्किएर आए पछि आउनु होला भन्ने जवाफ मिल्यो । मेरो मन्त्रीसंग अनुनयविनय गर्नु केही छैन । एक मिनट मात्र हो । म उठिउठि कुरा गर्ने हो । उहाँको समय लिन चाहन्न । भेटदिए ठीकै छ । नदिए पनि केही फरक पर्दैन । एउटा सानो चिटसम्म पठाई दिनुहोस् भन्दा चिट पठाई दिनु भयो । तुरुन्तै भित्रबाट पठाई दिनु भन्ने आदेश भएछ र म भित्र गएँ ।


साँचो कुरो हो कि उहाँसंग मैले माग गर्ने कुरा केही थिएन । जागिरमा कार्यरत हुँदा त म गएको थिइन भने अब त अवकाश जीवनमा मेरो के पो माग हुन्थ्यो र ? मेरो उत्कट ईच्छा भनेको मैले पढाएको विद्यार्थी उच्च राजनीतिक नेतृत्वमा पुगेकाले खुसी मात्र ब्यक्त गर्नु थियो । भित्र पसेपछि के कसरी विषय प्रवेश गरुँ भन्ने मन्मा लाग्यो र मलाई चिन्न सकिन्छ भनेर मैले प्रश्न तेस्याएँ । उहाँले किन सरलाई नचिन्नु, चिनी हाल्छु नि भन्नु भयो । त्यति शब्दले पनि म धेरै खुशी भएँ ।

 

मेरा छोराछोरीको विषयमा पनि उहाँले सोध्नु भएको थियो । मेरा तीन छोराछोरी हुन्, सबै नै अध्ययनको लागि विदेश गएका छन् भन्दा उहाँले ए, तपाईंका सबै बच्चाहरु विदेशमा रहेछन् भन्ने  जिज्ञासा प्रकट गर्नु भएको थियो । उहाँको लाक्षणिक शब्दले सायद सम्पन्न भएर विदेश गएको होलान् भन्ने मेरो मन्मा लागेको थियो । मैले उहाँलाई प्रष्ट पार्नु थियो कि उनीहरु आफ्नै क्षमताले गएका हुन् भन्ने कुरा । उहाँ आफ्नो विदेश भ्रमण कार्यक्रमको एजेण्डा तयार गर्नु पर्ने हुँदा ५।७ मिनेटको कुराकानी पछि म बाहिर निस्किएँ । मेराे विद्यार्थी  मन्त्री भएकाे  र एउटा गुरूले भेट गर्ने मौका पाउनु नै मेरो लागि  उपलब्धि थियो ।


यहाँ मैले जोड्न खोजेको कुरा केहो भने नारायणकाजी श्रेष्ठ विद्यार्थी अवस्थादेखिनै एक प्रतिभाशाली र नेतृत्व गर्न सक्ने क्षमता भएका ब्यक्ति हुन् भन्नु नै हो । मैले बुझेसम्म त्यस समयमा उहाँको परिवार नेपाली कांग्रेसप्रति झुकाव भएको जस्तो मलाई लागेको थियो । केही समय अघि उहाँको  अन्तरर्वार्तामा उहाँ पहिले नेपाली कांग्रेसमै लाग्नु भएको र पछि कांग्रेससंग खटपट परेपछि वामपन्थी धार अँगाल्नु भएको कुरा उहाँले नै भन्नु भएबाट यो प्रष्ट हुन आउँछ ।


मलाई लाग्दछ उहाँले निष्ठाको राजनीति गर्नु भएको छ र उहाँ आजसम्म पनि अविवाहित नै हुनुहुन्छ । उहाँको विषयमा कुनै आर्थिक प्रलोभन र अनियमितता सम्बन्धी कुनै गतिविधि सुन्नमा आएको पनि छैन । नारायणकाजी(प्रकाश) जस्ता देशभक्त, प्रतिभाशाली, क्षमतावान् र निष्ठाको राजनीतिकर्मीको आवश्यकता राज्यलाई परिरहेकै हुन्छ । मलाई लाग्छ त्यही आवश्यकता महसुस गरेरै होला उहाँलाई राष्ट्रिय सभाको सदस्यका लागि नेकपाले उपयुक्त पात्र ठान्यो । 


 

प्रतिकृया दिनुहोस