• शुक्रबार-चैत-१६-२०८०

कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर

 


 
लुम्बिनी, १३  चैत (रासस) : मुख्यमन्त्री शङ्कर पोखरेलले कोभिड १९ को जोखिमबाट बच्न दैनिक रुपमा सार्वजनिक आह्वान गर्दै घरभित्रै बस्न जनतालाई बारम्बार आग्रह गरिरहनुभएको छ । उहांँले लकडाउनको उल्लङ्घन नगर्न बारम्बार अनुरोध पनि गर्नुभएको छ ।

 
उहांँले दैनिक रुपमा जनतालाई आग्रह गर्दै सामाजिक सन्जाल, विज्ञप्तिमार्फत अपिल पनि गरिरहनुभएको छ  । मुख्यमन्त्री पोखरेलले चैत १२ गते बुधबार अपिल गर्दै लेख्नुभयो ,‘ शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा आफ्नो टोलभन्दा बाहिरको व्यक्तिलाई आउनबाट रोकौँ । टोलका बासिन्दाहरु पनि बाहिर नजाऔँ । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाऔंँ । कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राखौंँ । अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाऔंँ ।’


चौबीस घण्टामा १८ घण्टाभन्दा बढी कोरोनाको जोखिम र त्यसको पूर्वतयारी सम्बन्धमा योजना बनाउँदै स्थलगत अध्ययन अनुगमनमा हिँडिरहनुभएका पोखरेल चिन्तिन हुनु पनि स्वाभाविक हो । बाह्र जिल्ला रहेको प्रदेश नं ५ का बर्दिया, नेपालगञ्ज, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी भारतसँंग सीमा जोडिएको क्षेत्र हुन् ।

 

भारतमा जनता कफ्र्यु लागेपछि सीमावर्ती शहरबजारमा त्यसको प्रभाव पर्नु स्वाभाविक भए तापनि प्रदेशको पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा र  रुकुममा भन्दा तराईका जिल्लामा मान्छेको बलमिच्याइँ र बढी ओहोरदोहोर गरिरहेको प्रशासनको ठम्याइ छ ।  


एकातिर भारतसँंग खुला सिमाना, अर्कातिर शहर बजारका मान्छेको जिद्दीपनाले पनि  सङ्घीय, प्रदेश र  स्थानीय सरकार तथा प्रहरी प्रशासनको अपिललाई समेत चुनौती दिइरहेको छ । तथापि मुख्यमन्त्री पोखरेलले दैनिकजसो जनतालाई अपिल गर्ने क्रममा मङ्गलबार पनि भन्नुभएको छ, ‘लकडाउनको अवधिमा अत्यावश्यक सेवाबाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधनसहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेकोले निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ ।

 

निर्माणजन्य सामग्री ढुवानीका साधनहरु पनि रोकिएको छ । त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रक्रिया अघि बढाउन सक्छन् । सबैले आदेशहरुको पालना गरौँ । आफू सुरक्षित होऔँ अरुलाई पनि सुरक्षित हुन सहयोग गरौँ ।’


मुलुकमा सात प्रदेशका मुख्यमन्त्रीमा कोरोनाको पूर्वतयारीमा प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेल एक कदम बढी क्रियाशील भएको देखिएको छ तर  केही शहरिया मान्छेहरु जिद्दी गरिरहेका छन् । यसको दृष्टान्त आज दिउंँसो भैरहवामा देखियो । भैरहवाको मिलनचोकमा लकडाउनको अवेज्ञा गरेको भन्दै डयुटीमा खटिएका प्रहरीले केही साइकल चालकलाई सडकमै मुर्गा बनाएर सजायँ दिए । उक्त सजायँ दिएको भिडिओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । लगत्तै प्रहरी अधिकारीले ड्युटीमा खटिएका प्रहरी जवानलाई कारवाही गरिने बताए ।


 केहीबेरमै प्रहरी भ्यानमा माइक लगाएर कोरोना भाइरसको सङ्क्रमणबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ भन्दै प्रहरी भ्यान भैरहवा बजार परिक्रमा गर्न थाल्यो । प्रहरीको उक्त दोधारे क्रियाकलाप देखेर नागरिक समाजका अगुवा आश्चर्यचकित भएका छन् । विभिन्न बहाना बनाएर हिँडडुल गर्नेहरुलाई मुर्गा बनाएको विषयमा आलोचना गर्नु बेकारको काम भएको नागरिक अगुवा विजयसागरले बताउनुभयो ।

 

रुपन्देहीका नागरिक अगुवाको संस्था (विएमजी )का संस्थापक अध्यक्ष सागरले भन्नुभयो, ‘राज्यले बारम्बार आग्रह गरेको छ । माइकिङ गरिएको छ । यति गर्दा गर्दै पनि जथाभावी हिँड्नेलाई नसिहयत दिने ढङ्गले सडकमै गरिएको उक्त कारवाही ठीक छ । कमसेकम यसले सन्देश त दिन्छ कि सडकमा अनावश्यक हिँड्नु हुँदैन भन्ने । ’


शहर बजार जिद्दी मान्छेको क्रीडास्थल बन्न थालेको भन्दै नागरिक सचेतना फैलाउँदा फैलाउँदै पनि जिद्दी गर्नेहरुलाई कारवाही गर्नाको विकल्प नभएको श्रीबहादुर रायमाझीले बताउनुभयो । शिक्षाशास्त्री रायमाझीले भन्नुभयो, ‘सकेसम्म घरमै बस्ने, नसके एकाघरभन्दा यता उता नगर्ने भनेर यतिका प्रचारप्रसार गरिएको छ  तर मान्छेहरु तरकारी किन्ने, बजार गर्ने भन्दै अन्य बन्द हड्तालको समयमा झै अटेर गरी हिँडिरहेका छन् । यो गलत हो । ’ रायमाझीले यतिबेला आफूखुशी हिँड्ने मान्छेलाई कानूनी कारवाही गर्न कन्जुस्याइँ गरेमा त्यसले विकराल रुप लिने पनि बताउनुभयो ।


जिद्दी मान्छेहरुकै कारण समाजमा सङ्कट निम्तिने समाजशास्त्रका जानकार थानेश्वर पाण्डेले तर्क गर्नुभयो । उहाँंले भन्नुभयो, ‘यो अन्य बेलाको बन्द र निषेधाज्ञाको समय होइन कि प्रहरीको आँखां छल्दै दौडधुप गर्ने, लुकीलुकी दोकान खोल्ने । यतिबेलाको प्रसङ्ग फरक छ । यो महासङ्कटको समय हो । ’ पाण्डेले मान्छेले बुझेर पनि बुझ पचाइरहेको तर्क गर्दै  त्यस्ता मान्छेलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताउनुभयो ।

 


कोभिड १९ लाग्यो भने आफू पनि मर्ने, परिवार पनि मार्ने, छरछिमेक पनि खतरामा पर्ने, अस्पतालमा भर्ना हुँदा आफन्तले भेट्न पनि नपाउने र अन्तिम सद्गत गर्दा मलामी पनि जान नपाउने बाध्यता रहेको उल्लेख गर्दै पाण्डेले वर्तमान विश्व परिवेशमा मानव जातिलाई चुनौती दिने कोरोनाको उपचार सेल्फ क्वारेन्टाइन नै भएको बताउनुभयो ।


विश्वमा लकडाउनलाई उल्लङ्घन गर्दा इटालीले ठूलो क्षति ब्यहोरिरहेको छ । शुरुआतमा पाँच जनामा देखिएको कोभिड १९ त्यहांँका नागरिकले वेवास्ता गरी हिँडडुल गर्दा आज इटाली तहसनहस जस्तै भएको छ । बेलायतका राजकुमारलाई समेत कोरोनाले छोएको खबर प्राप्त भएका छन् । छिमेकी मुलुक भारतमा जनता कफ्र्यु नै लगाइएको छ ।

 

कोरोनाको उद्गमस्थल चीनमा अनुशासनकै कारण भाइरस नियन्त्रणमा आएको हो  तर हाम्रो देशमा सरकारी निर्देशनको अवज्ञा गर्दै गाउँमा भन्दा शहरमा मान्छेहरु लर्को बाँधेर किनमेल र घुमघामका लागि हिँडिरहनु गलत भएको नागरिक अगुवाको तर्क छ ।


स्थानीय वडा सरकारको निगरानीमा टोलस्तरमा खाद्यान्न र अत्यावश्यक वस्तु किनमेल गर्ने प्रबन्ध गरेमा पनि भीड नियन्त्रणमा सहज हुने नागरिक अगुवा सागरको सुझाव छ । सागरले ज्याला मजदुरी गर्नेहरुको लगत सङ्कलन गरेर उनीहरुलाई आधारभूत खाद्यान्नको व्यवस्थापन पनि स्थानीय सरकारले गर्नुपर्ने बताउनुभयो । उहांँले भन्नुभयो, ‘बिहान बेलुका हातमुख जोर्नका लागि काम गर्नैपर्ने बाध्यतामा रहेका मजदूरलाई स्थानीय सरकारले दालचामल, तेलनुन दिनुपर्छ ताकि उनीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसून् । ’


लकडाउनका कारण दिनभर सुनसान भएको भैरहवा बजारमा सांँझपख भने मान्छेहरुको हुल देखिन्थ्यो । मान्छेहरु तरकारी बजार र किराना पसलमा भीड लागेका थिए । कयौँ युवा  सांँझपख बजारमा टहलिरहेका थिए । उनीहरु रमाइलो मान्दै हिँडिरहेका पनि देखिन्थे । विगतका बन्दहड्तालको बेला साइकल, मोटरसाइकल, कार चलाउँदा बन्दको उल्लघङ्न गरेको भन्दै ‘हिम्मतवाला’, ‘ठूलो मान्छे’, ‘साहसी मान्छे’, भन्ने उपमा पाएकाहरु पनि यतिबेला सोही शैलीमा आफ्नो रवाफ देखाउँदा प्रहरीलाई सम्झाइबुझाई गर्न धौधौ भएको छ ।

 

रुपन्देही प्रहरीले सरकारी आदेशको अवेज्ञा गरी सवारी चलाएको आरोपमा मोटरसाइकल ११२, स्कुटी आठ ,  कार एक र साइकल सात वटा नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्तासमेत रहनुभएका डिएसपी खड्कबहादुर खत्रीले बताउनुभयो । उहांँले भन्नुभयो, ‘मान्छेहरुको जिद्दीपन देख्दा आश्चर्य नै लाग्छ । चौतर्फी प्रचारप्रसार गर्दा पनि उनीहरु अटेर गरिरहेका छन् । ’
---

प्रतिकृया दिनुहोस