काठमाडौं, भदौ २५ । श्रीलंकामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।
त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रतिकृया दिनुहोस