• शुक्रबार-बैशाख-१४-२०८१

नेता चन्दद्वारा पशुपति र लोहनीको बैठक बहिस्कार 

राप्रपाका असन्तुष्ट नेता जयन्त चन्द


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मा आन्तरिक शक्ति संघर्ष चर्किएको समाचार छ । समाचार स्रोतको भनाइमा पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको २०७६ साउन ५ गतेको बैठक जयन्त चन्दसहितका पाँच जना सदस्यले बहिस्कार गरेका छन् । दुई दिने सो बैठक उद्घाटनका क्रममा पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई फोन गरेर बैठकमा स्पष्ट कार्यसूची र पार्टी एकताका बेलाका सहमति पालना नभएकाले आफ्नो समूहले बैठक बहिस्कार गरेको जानकारी चन्दले दिएका थिए ।

 

सांगठानिक रुपमा लोहनी समूहभन्दा बलियो लोकेन्द्रवहादुर चन्द, जयन्त चन्दले बैठक बहिस्कार गरेपछि राप्रपा संयुक्तमा भ्वाङ्ग पर्ने अवस्था सिर्जना भएको छ । जयन्त चन्दलाई पार्टीमा लोकेन्द्रबहादुर चन्द जस्तै भद्र ब्यक्तिको रुपमा कार्यकर्ता र नेताहरुले लिने गर्दछन् । 

 

कमल थापाको पार्टीमा रही पूर्वमन्त्रीसमेत रहिसकेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलगायतको समूहलाई राप्रपा संयुक्तका नेताद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले २० प्रतिशत हिस्सा दिने समझदारी गरी राप्रपा संयुक्तमा प्रवेश गराएका थिए । पार्टी प्रवेशका दौरानमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रप्रति इमानदार रहने समझदारीपत्रमा डा. लोहनी, राणा, चन्द र भरत गिरीले हस्ताक्षर गरेका थिए । तर, सबै निकायमा चन्द समूहलाई २० प्रतिशतको भागबन्डाका आधारमा समेट्ने एकताका क्रममा भएको सहमतिलाई समेत डा. लोहनी–राणा पक्षले इमानदारीपूर्वक पालना नगरेको चन्द पक्षको आक्रोसित हुन पुगेको छ । 


यस समझदारी अनुरुप ३ सय ८५ भन्दा बढी सदस्य रहेको केन्द्रीय समितिमा चन्द समूहलाई झन्डै १ सय हाराहारीमा पाउने गरी प्रतिनिधित्व सुनिश्चित गर्नुुपर्नेमा त्योसमेत पालना हुन नसकेको असन्तुष्ट पक्षको आरोप रहेको छ ।

 

त्यसैगरी ११ सदस्यीय निर्देशक समितिमा कम्तीमा २ सदस्य, ३०–३५ सदस्यीय उच्चस्तरीय कार्यसम्पादन समितिमा कम्तीमा ८ सदस्य दिनुपर्नेमा ६ वटामा मात्र दिएको, निर्वाचन आयोगमा बुझाइएको विधानमा उच्चस्तरीय कार्यसम्पादन समिति ब्यवस्था नरहेपनि तीनदर्जनभन्दा बढी रहने ब्यवस्था गरिएको छ ।

 

 चन्द पक्षधर स्वयम् चन्द र भरत गिरीलाई मात्र राखिएकोमा सो समूहको असन्तुष्टि रहँदै आएको छ ।   चन्द समूहले त्यसप्रति जनाएको असन्तुष्टिका कारण वार्ता भई हाल चन्द र भरत पाठकसहित भरत गिरी, दिनेश श्रेष्ठ, गोविन्द खनियाँ र प्रह्लाद शाहलाई स्थान दिइएको छ ।

 

उच्चस्तरीय कार्यसमितिको २०७६ असार २० गतेको बैठक डाकिएको थियो । तर, २०७६ असार १७ गते सुनील थापाले हरिबहादुर बस्नेत र नवराज सुवेदीसमेतको भेलामा पशुपति र लोहनीले जयन्त चन्दलाई महत्व दिएको र आफ्नो समूहलाई हेपेको भन्दै विरोध जनाएपछि २०७६ असार २० गते मात्र बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

 

त्यो बैठक स्थगित भएपछि ३५ सदस्यीय उच्च स्तरीय कार्यसम्पादन समितिमा पशुपति समर्थक राजेन्द्र गुरुङ, सुनील थापा समर्थक धर्मराज जोशी, फत्तेसिंह थारु र बाबुराम बस्नेतलाई थप गरिएको थियो । त्यसो त राप्रपामा हरिबहादुर बस्नेत र नवराज सुवेदी समूहलाई दीपक बोहराले ‘नपड्किने तोप’को संज्ञा दिने गरेका छन् ।


अर्कोतिर संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रमा प्रतिबद्ध रहने सहमति विपरीत हाल राप्रपा संयुक्तमा गणतन्त्रवादी लाइन हावी भएकोमा समेत चन्दको समूह असन्तुष्टि रहेको छ । पार्टी नीति एकातिर हुँदाहुँदै डा. लोहनी र पशुपति शमशेर स्पष्ट रुपमा नै गणतन्त्रवादी हुन् भन्ने उदाहरण किरण गिरी जस्तो गणतन्त्र पक्षधरलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएबाट स्पष्ट भएको भन्दै संवैधानिक राजतन्त्र पक्षधरहरुले ब्यापक आलोचना गरेका छन् ।

 

त्यसो त पार्टीको मूलनीतिमा असहमत हुनेलाई पदाधिकारी नदिने नीतिविपरीत किरणको प्रवक्तामा भएको नियुक्तिलाई आपत्तिका रुपमा लिएको असन्तुष्ट पक्षका एक नेताले साँघुलाई बताए ।  

प्रतिकृया दिनुहोस