• शनिबार-बैशाख-१५-२०८१

एकल विन्दु सेवा : नाम नयाँ, काम भद्रगोल : हतारमा सुरु गरिएको केन्द्रको सेवा प्रभावहीन

 

 काठमाडौं । उद्योग विभागले २०७६  जेठ १ गते २५ वर्षदेखि चर्चामा रहेको एकलविन्दु सेवा केन्द्र सञ्चालनमा ल्यायो । चर्को हल्लीखल्लीबीच ल्याइएको केन्द्रको उद्देश्य छ–उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण सरकारी प्रक्रिया एकै थलोबाट प्रवाह गर्ने । सरकारले देशभित्रै उद्यम गर्न आह्वान गरिरहे पनि यसमा अनेक उल्झन छन् । त्यस्ता झन्झट पहिलो त उद्योग दर्ताबाटै सुरु हुन्छ । उद्यमीहरूले आवश्यक प्रक्रिया पूरा गर्नकै लागि १–२ होइन, करीब तीनदर्जन कार्यालय धाउनुपर्छ ।  कर्मचारीलाई जी–हजुरी गर्नुपर्छ । 

 


केन्द्रमा लहरै र आठवटा इकाई राखिएका छन् जसबाट उद्योग दर्ता, नवीकरण, राजस्व भुक्तानी, क्षमता वृद्धि, कारोबार अनुमतिलगायत प्रक्रिया पूरा गर्न सकिने जनाइएको थियो । केन्द्रको उद्घाटन गर्दै उद्योग मन्त्री मात्रिका यादवले भनेका थिए–यसले अब सुशासन कायम गर्नेछ । तर, असक्षम महानिर्देशक विनोद सिंहको भद्रगोल प्रशासनले गर्दा एकल विन्दु पनि भद्रगोल नै अवस्थाबाट गुज्रिरहेको छ । 

 


अनेक बाध्यता र अप्ठ्यारोबीच ल्याइएको एकल विन्दु सेवा समयको माग हो  । र, त्यही अनुरुप यसको उद्घाटन पनि गरियो । तर, सुरुमै यसको सेवा प्रभावहीन देखिएको गुनासो सेवाग्राहीले गर्न थालेका छन् । यसलाई ब्यवस्थित गर्नेतर्फ एकल विन्दु सेवाका प्रमुख तथा उपसचिव विनोद खड्काले पनि सकेनन् भने महानिर्देशक सिंहले त वास्तै गरेका छैनन् । 

 


नाम नयाँ, काम परम्परागत
कुनै पनि काम हतारोमा सुरु गर्ने तर आवश्यक संयन्त्र विकासमा ध्यान नदिने रोग नयाँ होइन । सस्तो प्रचारका लागि हचुवाका भरमा देखावटी काम गर्ने परिपाटी दुई तिहाईको बहुमत प्राप्त सरकारमा पनि देखिएको छ । केही समयअघि सरकारले स्थापना गरेको पानीजहाज कार्यालय यसकै ज्वलन्त उदाहरण हो । ललितपुरमा पानीजहाज कार्यालय हतारमा स्थापना गरिएको भए पनि त्यसले कर्मचारी अभावमा अझैसम्म काम गर्न सकेको छैन । त्यस्तै नियति एकलविन्दु सेवा केन्द्रको हकमा पनि देखिएको छ ।

 


एकलविन्दु सेवा केन्द्र स्थापनापूर्व विभागले आवश्यक तयारी गर्नु अपरिहार्य थियो । आन्तरिक तयारी पूरा भएपछि मात्रै केन्द्रले यसलाई सञ्चालनमा ल्याएको भए यो प्रभावकारी हुन्थ्यो । तर, हतारमा सेवा केन्द्र सञ्चालनमा ल्याउँदा सेवाग्राहीले फरक अनुभूति गर्न सकेका छैनन् । काठमाडौंका राजु मानन्धर एकल विन्दु सेवा केन्द्रबाट उद्योग दर्ता गर्न सहज हुने सुने पनि व्यवहारमा त्यस्तो नदेखिएको गुनासो गर्छन् । ‘उद्योग विभागबाट लिने सेवा प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र स्थापना गरिए पनि अपेक्षाअनुरुप काम भएको छैन’, महर्जनले भने, ‘उच्च प्रविधिमा आधारित सेवा होला भन्ने सोचेर आएको काम त पूरै परम्परागत पाराले हुँदो रहेछ ।’  

 


एकल विन्दु सेवाका लागि आवश्यक प्रणाली  विकासको अवस्था कस्तो छ भने प्रारम्भिक काम नै पूरा गरिएको छैन । जसले कार्यसम्पादन गर्न कठिनाइ भएको छ ।

 


सेवाप्रवाह दुरुह
 एकल विन्दु सेवा केन्द्रबाट उद्योग दर्ताका सबै काम हुने भनिए पनि अहिले त्यहाँबाटै हुने काम भनेको उद्योग दर्ता मात्रै हो । यसबाहेकका अन्य काम सेवा केन्द्रबाट अझै सञ्चालनमा आउन सकेको छैन । यस्तो भद्रगोल अवस्था रहँदा पनि उद्योग विभागका महानिर्देशक सिंहको ध्यान किन नगएको होला ? भन्ने प्रश्न जवाफ दिने निकाय मन्त्रालयलाई पनि कुनै मतलव नभएको महसुस सेवाग्राहीहरूले गर्ने गरेका छन् ।

 


 ‘नाम एकल विन्दु सेवा केन्द्र दिइएको छ तर काम भने उद्योग दर्ताको मात्रै हुन्छ’, एक कर्मचारीले सेवा केन्द्र सञ्चालन पूर्वतयारीमा देखिएको समस्या औंल्याउँदै भने । सेवा केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको अवस्था पनि उस्तै दुरुह छ । त्यसको गतिलो उदाहरण उद्योग दर्ता हो । यो प्रणाली सञ्चालनको काम जानेका एक मात्रै कर्मचारी विभागमा छन् । स्रोतका अनुसार, ती कर्मचारीको अनुपस्थितिमा प्रणाली सञ्चालन गर्ने अर्को दोस्रो व्यक्ति विभागमा छैनन् । कारण, यही दर्ताको काम पनि बेला–बेला प्रभावित हुने गरेको छ । हचुवाका भरमा दक्ष कर्मचारी सरुवा गर्दा यस्तो समस्या आएको विभागको भनाइ छ । 

 


 एकल विन्दु सुरुवात गर्नु पहिलेदेखि नै विभागले उद्योग दर्तालगायतको अभिलेख राख्नका लागि प्रयोग गरिरहेको प्रणाली नै अहिले एकल विन्दु सेवा केन्द्रमा सारिएको एक कर्मचारीले बताए  । उदेकलाग्दो त के छ भने यो प्रणालीले उद्योगहरूको पुँजी वृद्धि, स्थानान्तरण, शेयर सदस्य परिवर्तनलगायतका मामुली कामसमेत गर्न सक्दैनन् । ढड्डा नै पल्टाउनुपर्छ । 

 


सेवाग्राहीको दुःख कर्मचारीमा सरे
पहिले उद्योग दर्ताको लागि विभाग पुग्ने सेवाग्राही अनेक हैरानीमा पर्थे । दर्जनौं ठाउँ चहारेपछि मात्रै उद्योग दर्ताको काम फत्ते हुन सक्थ्यो । यही समस्याको दीगो समाधान खोज्ने बाध्यताले नै विभाग एकलविन्दुमार्फत सेवा प्रवाह गर्न लागिपरेको छ । 

 


 तर, प्रणालीको विकासमा विभाग खरो उत्रन नसक्दा कर्मचारीले हैरानी व्यहोरका छन् । विभागका एक कर्मचारीका अनुसार, सेवाग्राहीको फाइल बोकेर विभिन्न निकाय चहार्ने विगतको सेवाग्राहीको रोग अहिले कर्मचारीमा सरेको छ । ‘विगतमा सेवाग्राही ३ दर्जन बढी कार्यालयमा फाइल बोकेर चहार्थे’, सेवा केन्द्रका एक कर्मचारीले गुनासो गरे, ‘प्रणाली विकास नभई हतारमा सेवा केन्द्र सञ्चालनमा ल्याउँदा अहिले हामी आफैं विभिन्न निकायमा सेवाग्राहीको फाइल बोकेर जान बाध्य छौं ।’

 


भन्सार, अध्यागमन, राष्ट्र बैंकसहित केन्द्रका सबै ईकाईको भिन्न–भिन्न प्रणाली एकीकृत रुपमा केन्द्रमा जोडिनुपर्ने भए पनि यो काम हुन सकेको छैन ।

 


 बजेट र कर्मचारी समन्वयको अभाव
एकल विन्दु सेवा केन्द्रमा दुई दर्जन कार्यालयका कर्मचारी छन् । फरक फरक पृष्ठभूमिका कर्मचारी एकै स्थानमा भएकाले उनीहरूबीच समन्वयात्मक समस्या समेत देखिन थालेको छ । सेवा केन्द्र सञ्चालनमा यीलगायतका समस्या रहेकाले प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित मन्त्रालयसम्मले सहयोग गर्नुपर्ने मत उद्योग विभागको छ ।

 


 केन्द्रले खेपेको अर्को समस्या हो, बजेट । विभागका अनुसार, यसका लागि पर्याप्त बजेट उपलब्ध हुन सकेको छैन । त्यसैले विभागले पूर्ण अटोमेशनमा लैजान २ करोड रुपैयाँ सरकारसँग मागेको छ । २ करोड प्राप्त भएमा प्रणालीहरू व्यवस्थित हुने केन्द्रको दाबी छ । 
 

प्रतिकृया दिनुहोस