• बिहीबार-बैशाख-२०-२०८१

राखेपका सदस्य सचिव सिलवालले सपथ लिए


काठमाडौँ, २३ असार  : राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन्  । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका हुन्  । 

 

    निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त भएका हुन् । मन्त्रिस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा सिलवालले सदस्य सचिवको शपथ लिएका थिए  । प्रधानमन्त्री संरक्षक रहने राखेपमा युवा तथा खेलकूदमन्त्री अध्यक्ष रहने प्रावधान छ । 

 

    सदस्य सचिवमा नियुक्त सिलवाल यसअघि निवर्तमान सदस्य सचिव विष्टद्वारा गठित नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष थिए । सिलवाल हिसान र गोल्डेन गेट कलेजको अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको संस्थापक अध्यक्षसमेत हुन् ।
 

राखेपको १८ औँ सदस्य सचिवका रुपमा नियुक्त भएका सिलवालले शपथ ग्रहणका साथै आजै त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पद बाहलीसमेत गरेका  छन् । उनले सबैलाई साथमा लिएर काम गर्ने र कोही कसैसँग आग्रह पूर्वाग्रह राखेर काम नगर्ने बताए । 

 

    सदस्य सचिव सिलवालले आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आयोजनाका लागि हरेक दिन तालिका बनाएर काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे  । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए  । 
(रासस)

प्रतिकृया दिनुहोस