• शुक्रबार-बैशाख-७-२०८१

ई–चुरोटको सेवन मस्तिष्कका लागि घातक 

 

वासिङ्टन, १७ असार  – परम्परागत सूर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । 

 

आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ ।

 

सुरुआती दिनहरुमा सुरक्षित ठानिएको ई–चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक छन् । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट अन्ततोगत्वा मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुन्छ, अध्ययनमा भनिएको छ । अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताए ।

 

उनले ई–चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताए । जाहेदीले मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले त अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए  । 

 

उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई–चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको छ भने । उनले यस्तो उमेरमा ई–चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने बताए ।

 

अध्ययन सहयोगी टाल्बोटले पनि जहाँसुकै पाइने ई–चुरोटमा निकोटिन हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए । (रासस-एएनआई)
 

प्रतिकृया दिनुहोस