• शनिबार-बैशाख-२९-२०८१

 जङ्गलमा बस्दै आएका कुष्ठरोगी  सुनारी कथा-व्यथा 


रामपुर, १३ (रासस) : विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्किएका छन्  । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आएका थिए  । 

 

जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उनलाई घर फर्काइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए  ।


 
कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताए ।


 
जङ्गलमा बस्दा जङ्गली  जनावरको डर लाग्ने बताउँदै अहिले धेरैपछि घरमा आउँदा आफैंलाई अचम्म लागेको सुनारीको भनाइ छ । अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए  ।

 

सुनारी केही समय अगाडि आफ्ना भाइसँगै बस्न थालेका छन्  । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरे पनि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका थिए  । 

प्रतिकृया दिनुहोस