• शुक्रबार-बैशाख-७-२०८१

अब बोल्नुस् विवेकको बिर्को खोल्नुस् 

हाम्रो देशका एकजना सुप्रसिद्ध लेखक तथा उद्योगपति कर्ण शाक्यले केही समय अघिदेखि सकारात्मक सोच अभियान सञ्चालन गर्दै आएका छन् । देशमा जताततै अस्तव्यस्त भ्रष्टाचार, खुट्टा तानातान र नकारात्मक प्रवृत्तिको बोलवाला देखेपछि नयाँ पुस्तालाई सकारात्मक सोचमा उन्मुख गराउन सकियो भने देशको भविष्य पनि सुन्दर हुन जान्छ भन्ने उनको सोच हो भने दूरदर्शितापूर्ण छ । 

 


अहिले व्यवस्थापनमा सकारात्मक सोचको महत्वपूर्ण र सकारात्मक भूमिका हुन्छ भन्ने कुरालाई संसारले स्वीकारेको छ । व्यवस्थापनमा सकारात्मक सोचको अवधारणा कसले अघि सा¥यो भन्ने विषयमा मानिसहरूका फरक फरक धारणाहरू छन् । 

 


 अहिले संसारमा विकासको दृष्टिले अगाडि रहेका मुलुकका विचारहरू र विद्वानहरूले नै यस अवधारणाको प्रतिपादन गरेको हुनुपर्छ भन्ने अनुमान नेपालजस्ता विकासोन्मुख मुलुकका धेरै मानिसहरूले समेत गर्ने गरेको पाइन्छ । अविकसित र गरीब मुलुकका मानिसहरूले शुरुमा सबै समस्याको समाधान विकासित र सम्पन्न मुलुकमै होला भनेर सोच्ने कुरालाई अस्वभाविक मान्न पनि सकिदैन । तर, संसारका सर्वाधिक प्राचीनतम ग्रन्थहरू मानिने वेद, उपनिषद्, वैदिक दर्शनको सारांशको रुपमा हेरिने भगवद्गीता जस्ता रचनाहरूमा समस्याको समाधान खोज्ने प्रयास भने सामान्यतया भएको पाइँदैन । तर, यथार्थमा वैदिक दर्शनमा नै सकारात्मक सोचको सिद्धान्तले स्थान पाएको देखिन्छ ।

 


  भगवद्गीताले अघि सारेको सुखदुख, सफलता–असफलता, विजय पराजयलाई सहजरुपमा लिए निरन्तर आफ्नो कर्तव्यपथमा लागिरहनुपर्छ भन्ने सिद्धान्त अर्थात स्थितिप्रज्ञको सिद्धान्त सकारात्मक सोंचको सिद्धान्त हो र यस सिद्धान्तले नै मानव जातिको इतिहासमा सकारात्मक सोंचको महत्वको पहिलोपटक पहिचान गरको मान्न सकिन्छ ।

 

तर, नेपालमै जन्मेर नेपालकै भूमिमा साधना गरेका ब्यासले आफ्नो जन्मस्थान नेपालकै भूमिमा रहेर लेखेका वेद, उपनिषद् र पुराणमा रहेको सकारात्मक सोंचको सिद्धान्तको समग्रमा पहिचानसम्म पनि गर्न नसकेको कुरालाई हामीहरूले विडम्बना नै मान्नुपर्छ । यस्ता ग्रन्थहरूको अध्ययन नै नगरीकन यी ग्रन्थले दिएको सन्देशको खोट खोज्ने र रचनाहरू हातमा परिहाले भने तिनमा नकारात्मक कुरा मात्रै खोज्ने प्रवृत्तिले हामीहरू ग्रस्त छौं र सम्भवतः त्यसैले पनि हामीहरू गरीब छौं अविकसित पनि छौं । 

 


सकारात्मक सोचको सिद्धान्तको जन्मभूमि नेपालमा अहिले सकारात्मक कुराभन्दा नकारात्मक कुरा धेरै भेटिने कुरालाई झन् ठूलो विडम्बनाको रुपमा लिनुपर्दछ । नेपाली जनताले ठूलो आशा र भरोसा राखेर निर्वाचनमा मत दिएका दलको नेतृत्वमा गठन भएको सरकारले गरेका कार्यहरू र सिर्जना गरेका बेथिती र विसंगतिहरूको चापले गर्दा नेपालीहरूले आफ्नो शिर लाजले निरन्तर झुकाउनुपर्ने अवस्था बनिरहेको छ । 

 


 राणा शासनमा राजाहरूले राष्ट्रिय सम्पत्तिको दोहन गरेर मोजमज्जा गर्थे भन्ने कुरा पढेर र सुनेर ठूला भएका नेपालीहरूको अहिले राजाहरूले निर्माण गरेका र संरक्षण गरेका बालुवाटार र टुडिखेल लगायतका सार्वजनिक महत्वका ठाउँका जग्गा अहिले शक्तिमा पुगेका नयाँ शासकहरू र उनीहरूका आसेपासेले विक्री गरेर सक्न लागेको देखेर विश्वास गर्न समेत सकिरहेका छैनन् । बालुवाटारमा रहेका प्रधानमन्त्री निवास समेतको सार्वजनिक जग्गा जालझेलबाट व्यक्तिका नाममा दर्ता र खरीद विक्री भएको कुरा सार्वजनिक भएको छ भने खुलामञ्चको जग्गामा रातारात सटर निर्माण भएर पसलको सञ्चालन हुन थालेको अर्काे अविश्सनीय कुरा सार्वजनिक भएको छ ।

 

खुलामञ्च अगाडिको पुरानो बसपार्क रहेको ठाउँको सार्वजनिक जग्गाको संरक्षणमा पनि शक्ति र सत्तामा हुनेहरू र बस्नेहरूको ध्यान पुगेको पाइँदैन । अझ जालझेल प्रपञ्चका आधारमा व्यक्तिका नाममा दर्ता भएको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गर्नका निम्ति आवश्यक कागजात प्राप्त भएनन् भन्ने अर्काे हाँसो उठ्दो समाचार समेत बाहिर आएको छ । 

 


 पहिले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्नका निम्ति एउटा कार्यकालका हाकिमलाई अधिकार दिनका निम्ति मन्त्रिपरिषद्बाट निर्णय गर्न गराउन अघि सर्ने मानिसहरू मध्येकै मासिनहरू अहिले पनि सत्ता र शक्तिमा रहेका मानिसहरूले आवश्यक अग्रसरता देखाउन नसकेको कुरालाई पनि अर्थपूर्णरुपमा लिनुपर्दछ ।

 

एनसेलका सञ्चालकहरूबाट अर्बाैं रुपैयाँ लिएको आरोप लागेका तीनओटै ठूला दलहरू पनि एनसेल प्रकरणमा जस्तै बालुवाटार तथा तथा खुलामञ्चका सार्वजनिक जग्गालाई व्यक्तिका नाममा लैजाने कामका विषयमा पनि तैंचुप मैचुप छन् । अर्कातिर गैरनेपालीहरूलाई चोरबाटोबाट नागरिकताको प्रमाणपत्र दिने कानूनको निर्माण गर्ने कुरामा चाहिं आलोपालो कहिले सत्तामा र कहिले विपक्षमा बस्दै आएका दलहरूमा आम सहमति बनेको देखिन्छ । 

 


यसरी राष्ट्रलाई नोक्सान पुग्ने काम गर्न हतार हतार गरेर अगाडि सर्ने र राष्ट्रको सम्पत्तिको संरक्षण गर्नको निम्ति कठोर कदमक चाल्न हतार गर्नुपर्ने समयमा रमिता हेरेर बस्ने काम गर्ने दलहरू र सरकारहरूले साँच्चै नै जनताको प्रतिनिधित्व गर्छन् र ऐन तथा संविधान बमोजिम काम गर्छन् भन्ने कुरामै ठूलो प्रश्न खडा भएको छ ।

 

यस्या प्रवृत्ति देखेर सरकारले राजनीतिक दल र तिनका नेताहरू र सरकारी निकायका प्रमुख पदाधिकारीहरूले अहिले आफ्नो बुद्धिविवेकले कुनै काम नगरीकन मुलुक बाहिरका शक्तिका गोटीको काम मात्रै गर्छन् भन्ने कुरा समेत कतिपय बुद्धिजीवी र विश्लेषकहरूले गर्न थालेका छन् । 

 


सरकारले साँच्चै नै जनादेशको हितको काम गर्ने इच्छा राख्छ र सरकारमा बस्ने प्रमुख पात्रहरू अरु बाहिरी शक्तिका गोटी मात्र होइनन् भने उनीहरूले आफ्नो व्यवहारबाट प्रमाणित गरेर जनतालाई देखाउनुपर्ने अवस्था आएको छ । बालुवाटारको सरकारी जग्गा जोगाउन जनता सडकमा निस्कनुपर्ने, राणाकाल र राजतन्त्रकालमा निर्माण र संरक्षण गरिएको खुल्लामञ्चजस्ता ठाउँको जग्गा फिर्ता गर्न जनता आफैं सडकमा निस्कनुपर्ने र एनसेलबाट कर असुल गर्नका निम्ति सरकारलाई दबाब दिन पनि जनता सडकमा निस्कनुपर्ने हो भने व्यवहारमा सरकार शासन सञ्चालन गर्न असक्षम भएको प्रमाणित हुन्छ ।

 

यहाँनेर कृष्णले अर्जुनलार्ई तात्कालीन अन्यायी र असक्षम शासकहरूको विरोधमा युद्ध आह्वान गरेको कुरा उत्तिकै स्मरणीय हुन जान्छ । सरकारले जनता आफैं सडकमा ननिस्कँदै आफन गलत कार्यलाई सच्याएन भने जनतासँग सडकमा निस्कनुबाहेक अर्काे विकल्प हुँदैन भन्ने तथ्यको सम्बन्धित सबै पक्षले मनन् तथा स्मरण गर्न आवश्यक देखिन्छ । 

प्रतिकृया दिनुहोस