• सोमबार-भदौ-३०-२०८२

नेसपा (नयाँ शक्ति)को आकस्मिक बैठक, असोज ८ गते विशेष विस्तारित बैठक बोलाइने

काठमाडौं । नयाँ शक्ति पार्टी (नेसपा) केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठक बसेर पछिल्ला राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनपछि बनेको परिस्थितिबारे गम्भीर समीक्षा गरेको छ । बैठकले पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्ने उद्देश्यले २०८२ असोज ८ गते काठमाडौंमा केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकपछि संयोजक डा. बाबुराम भट्टराईले जानकारी दिँदै भने, “देशमा देखिएको नयाँ जनआन्दोलनले पुरानो राजनीतिक संरचना र नेतृत्वलाई चुनौती दिएको छ । यस्तो परिस्थितिमा नेसपाले आफ्नो स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम सार्वजनिक गर्न आवश्यक भएको छ ।”

उनका अनुसार विशेष विस्तारित बैठकमा केन्द्रीय तहका सम्पूर्ण सदस्यहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू र अन्य जिम्मेवारी सम्हालेका पदाधिकारीलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको छ । उक्त बैठकमा पार्टीको संगठनात्मक पुनर्संरचना, आन्दोलनसँगको सम्बन्ध र आगामी राजनीतिक रणनीतिमाथि व्यापक छलफल हुने जनाइएको छ ।

बैठकले हालको राजनीतिक संक्रमणलाई सम्बोधन गर्ने क्रममा पार्टीले युवापुस्ताको आकांक्षा र आन्दोलनमा देखिएको ऊर्जा आत्मसात् गर्नुपर्ने निष्कर्ष निकालेको संयोजक भट्टराईले स्पष्ट पारे । “यो नयाँ पुस्ता र नयाँ नेपालको ऐतिहासिक घडी हो, त्यसैले नेसपा नीतिगत र संरचनात्मक दुवै हिसाबले निर्णायक छलाङ मार्नेछ,” उनले बताए ।

यसअघि नेसपाले जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भ्रष्टाचार, नातावाद र असक्षम शासनको अन्त्यका लागि व्यापक सुधारको खाँचो रहेको जनाएको थियो । २०८२ असोज ८ गते हुने बैठकलाई त्यसैको औपचारिक निरन्तरता स्वरूप हेरिएको छ ।

प्रतिकृया दिनुहोस