• आइतबार-भदौ-१५-२०८२

भ्रष्टाचार हटाउने अठोट : प्रधानसेनापतिको पहिलो प्राथमिकता 

नेपाली सेनाभित्र शुद्धीकरणको अभियान सफल हाेला ? 

कल्याणकारी रकमदेखि सरकारी रकम हिनामिना गर्नेहरू जोसुकै माथि पनि अहिले सैनिक कारबाही भइरहेको समाचार पढिएको छ। सेना नै यस्तो संस्था हो जहाँ प्रधानसेनापति एक जनाले पेटमा हरि राखेर संस्थाको लागि राम्रो काम गरौँ भन्ने अठोट लिने हो भने एकदम सम्भव छ। राम्रा कामहरूमा हामी सम्पूर्ण अवकाशप्राप्त सैनिकहरूले प्रधानसेनापतिज्यूलाई खुलेर समर्थन र सहयोग गर्नै पर्छ। साथै नेपाली सेना,  जंगी अड्डालाई म निम्न सुझाव पनि पेश गर्न चाहन्छु :

१) अधिकृत क्याडेट भर्ना गर्ने उमेर


अधिकृत क्याडेट भर्ना गर्ने उमेर अब २२ वर्ष बनाउनु पर्छ। त्यसपछि स्नातक गर्ने उम्मेदवार जतिसुकै पनि आउँछन्। हाल भएको ३ वर्षभन्दा बढीको अफिसर क्याडेट कोर्स एकदम अत्यास लाग्दो छ। नेपाली सेनामा अफिसर भएर पनि धेरैभन्दा धेरै तालिम भएकोले क्याडेट कोर्स १ वर्षको तर पक्का सिपाही पाराको रहोस्। हाल क्याडेटहरूलाई सैनिक तालिमको साथै स्नातक तह पनि पढाउने काम हुँदा ३ वर्षको समय र ठूलो रकम खर्च भइरहेको छ।

२) पेन्सन नपुगेका भूपू सैनिकको प्रयोग


पहिला–पहिला रहेको प्रचलन अनुसार, १ पटक जागिर छाडेका तर पेन्सन पाक्न बाँकी रहेका भूपूहरूबाट ग्यारिजन गणको फेरि व्यवस्था होस्। बाध्यताले गर्दा पेन्सन पाक्न २–४ वर्ष बाँकी भएका ती सैनिकले काम पनि गर्छन् र पेन्सन पाकेपछि सैनिक अस्पतालको सुविधा पनि पाउँछन्। यस्ता पूर्व सैनिक व्यक्तिहरू हजारौँ छन्। मैले मेची–महाकाली भ्रमण गर्दा पनि त्यस्ता भूपू तर पेन्सन नपुगेका सैनिकले यही सुझाव दिएका हुन्।

३) वैदेशिक रोजगारीका लागि ऋण सुविधा


पेन्सन पाएर नियमानुसार जागिर छाड्ने कुनै पनि दर्जाले विदेशमा रोजगारीका लागि जान ऋण मागे भने कल्याणकारी कोषबाट ऋण दिने व्यवस्था होस् र उक्त ऋण सम्बद्धको पेन्सनबाट क्रमिक रूपमा कट्टा गर्ने सुविधा होस्। हाल खाडी, मलेसिया लगायतमा काम गर्न जाने भूपूहरूले चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यता छ।

४) ‘फास्ट ट्र्याक’ पदोन्नति पुनः मूल्याङ्कन


प्रधानसेनापति गौरवसम्शेर राणाको पालामा लागू गरिएको “फास्ट ट्र्याक” प्रणालीले १०% अधिकृत मात्र खुशी भए भने बाँकीको मनोबल खुम्चिएको छ। पढेर, घोकेर अंक ल्याउनेहरू मात्र टुप्पोमा पुगेका छन्। यसले ‘सुब्बा–डिट्ठा’ उत्पादन गर्ने प्रणालीलाई निरन्तरता दिएको छ। अब ‘तिखारिएका’ अधिकृत, जर्नेल, कर्नेल, लप्टन उत्पादन गर्ने व्यवस्था थालिनुपर्छ। नेपाली सैनिक भनेको “एक मुट्ठी पढ्ने र एक डोको काम गर्ने” जात हो।

५) इन्फेन्ट्री र मद्धति अंगको पदोन्नति अलग–अलग व्यवस्था


नेपाली सेनामा इन्फेन्ट्री (पैदल) र मद्धति अंग (आर्टिलरी, फिल्ड इन्जिनियर, सिग्नल) लाई एउटै डोकामा हालेर पदोन्नति र तालिमको व्यवस्था गर्नु घोर अन्याय हो। मद्धति अंगका थोरै अधिकृतले बढी तालिम, विदेश तालिम र ‘फास्ट ट्र्याक’को सुविधा पाउँछन् भने इन्फेन्ट्री अधिकृतहरूको करियर विकास थामिएको छ। यही कारणले इन्फेन्ट्रीको गुणस्तर घट्दो छ। अन्य देशझैँ छुट्टै व्यवस्था गर्न ढिला नगराैं।

६) अस्पताल–स्कूल चलाउन भत्ता काट्ने गलत अभ्यास अन्त्य होस्


वार कलेज र २०औँ तालिम पास गरेका प्रधानसेनापति र रथीहरूलाई सोध्न चाहन्छु : कुन आर्मीले सैनिकको भत्ता काटेर अस्पताल र विद्यालय चलाउँछ ? सैनिकको तलब न्यून छ, शान्ति सेनाको पैसा समेत काटेर अस्पताल चलाउनु घोर अन्याय हो। यो काम सरकारको दायित्व हो, सैनिक नेतृत्वले सरकारसँग माग्न नसकेर सैनिकको तलब काट्नु गलत हो।

७) अवकाशप्राप्त सैनिकमा एकता आवश्यक


अन्तमा, मेरो विनम्र अनुरोध : अवकाशप्राप्त सैनिकहरूले सेनाको गरिमामा आँच आउने गरी बोल्ने वा लेख्ने काम बन्द गरौँ। कुनै प्रधानसेनापतिले रिस-द्वेषमा गरिएको अन्यायलाई अर्को प्रधानसेनापतिले सच्याउनुपर्छ। सबै अवकाशप्राप्त सैनिक-सिपाहीदेखि जर्नेलसम्म-नेपाली सेनाको यशोवृद्धि, संस्कार, संस्कृति र इतिहास जोगाउन एकताको डोरीमा बाँधिनै पर्छ। हामी अहिले पनि सिपाही हौँ।

अपिल गर्ने

सहायक रथी (अ.प्रा.) डा. प्रेम सिंह बस्न्यात

प्रतिकृया दिनुहोस