सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल बस्ने लहान नगरपालिका २४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरुले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध हल्ला गर्न थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेको सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए।
चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी र चप्पल घटनास्थलबाट बरामद भएको छ । फनिलालको साउन १४ गते हत्या भएको थियो ।
सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।
इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए । जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले सुनाए ।
प्रतिकृया दिनुहोस