काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् । लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ ।’ पौडेलका अनुसार अदालतमा मुद्दाको पेसी चढेपछि न्यायिक परिषद्मा उजुरी पुग्ने र ती उजुरीहरू गृहमन्त्रीको कार्यकक्षमै ड्राफ्ट हुने गरेको छ ।
निकिता पौडेलले गृहमन्त्री लेखकमाथि न्यायाधीशलाई डराउने नियतका साथ उजुरीहरू मिडिया र अन्य माध्यमबाट फैलाउने प्रयास गरिएको पनि दाबी गरेकी छन् । ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचार लिंक सबैलाई मोबाइलमा पठाउने आदेश दिनुहुन्छ, न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ,’ उनको स्टाटसमा उल्लेख छ ।
त्यसैगरी, रवि लामिछानेविरुद्धका सबै मुद्दा लेखक गृहमन्त्री भएपछि मात्र उठाइएका हुन् भन्दै उनले यो घटनाक्रमलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिएकी छन् । अदालतमा बहसको क्रममा सरकारी वकिलहरू जवाफ दिन नसक्ने तर फैसला भने रवि लामिछानेविरुद्ध आउने आरोप पनि उनले लगाएकी छन् ।
‘इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्ष दिन सक्दैन, तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन,’ स्टाटसमा भनिएको छ ।
निकिता पौडेलले प्रधानमन्त्री, कानुनमन्त्री र गृहमन्त्रीले न्यायाधीशहरूलाई फोन गरेर दबाब दिने गरेका कुरा आफूले पहिले नसुनेको तर अहिले प्रत्यक्ष अनुभूति भएको बताएकी छन् ।
‘न्याय नपाएसम्म म लडिरहन्छु,’ भन्दै उनले न्याय सम्पादनमा अवरोध पुगेको भन्दै न्याय परिषद्मा उजुरी दिने चेतावनी पनि दिएकी छन् ।
साथै, उनले प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘कार्यकाल सकिएपछि लेखिने पुस्तकले न्याय दिँदैन, कार्यकालमै लेखिएको आदेशले दिन्छ । न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु । न्याय नपाउन्जेल लड्छु ।’
प्रतिकृया दिनुहोस