कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, गोबरैयामा दयाराम गिरीले जिउँदै भएकी श्रीमती गोमतीदेवी गिरी (नाथ)को मृत्युदर्ता गराएको घटना बाहिर आएको छ । प्रेम सम्बन्धबाट २०४६ पुस ४ मा विवाह गरेका दयाराम र गोमतीबीच सुरुमा सम्बन्ध राम्रो रहे पनि पछि खटपट बढेको बताइन्छ ।
दयाराम नेपाली सेनामा कार्यरत रहँदा श्रीमतीलाई १० धुर जमिन पास गरेका थिए । तर, २०७५ असार ३ मा गोमती दुई नाबालक छोरालाई छाडेर माइती गएपछि दयारामले २०७६ फागुन ५ मा श्रीमतीको मृत्यु भएको भन्दै फागुन २० मा वडा कार्यालयमा मृत्युदर्ता गराए थिए ।
त्यसपछि फागुन २२ मा जमिनको नामसारी आफ्ना र छोराको नाममा गरे । शान्तिसेनामा गएका दयारामले नेपाल फर्केपछि दोस्रो विवाह गरेर भारतमा बस्दै आएको बताइन्छ ।
यो घटना गोमतीलाई ६ वर्षपछि मात्रै थाहा भयो। २०८२ असार २३ मा कामका लागि वडा कार्यालय पुगेकी उनी आफ्नै मृत्युदर्ता भएको थाहा पाएर स्तब्ध भइन् । उनले मृत्युदर्ता प्रमाणपत्र खारेजी र न्यायको माग गरेकी छन् ।
घटनाप्रति नागरिकले कानुनी प्रक्रिया उल्लंघन र गैरकानुनी सेटिङको आशंका व्यक्त गरेका छन् । दयारामका आफन्तहरूले भने जमिन सन्तानकै लागि बचाउन मृत्युदर्ता भएको दाबी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले पुरानो निवेदनबारे अभिलेख जाँच गरिने बताए । पीडित गोमतीदेवीलाई वडाध्यक्ष सुशील भट्टले छानबिनपछि मृत्युदर्ता खारेज गरिने आश्वासन दिएका छन् ।
प्रतिकृया दिनुहोस