काठमाडौं, साउन १४ गते । साहित्य सन्ध्याको कार्यसमितिको २०८२ साउन ९ गते शुक्रवार साँझ सम्पन्न बैठकले नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका विद्वान महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ।
वि.सं. १९९९ साल चैत्र १३ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका त्रिपाठी दीर्घ साहित्यिक योगदानका लागि विशिष्ट व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ। उहाँ एकैसाथ समालोचक, कवि÷महाकवि, निबन्धकार, भाषाविद्, अनुवादक, सम्पादक र दीर्घ शिक्षासेवीको रूपमा चिनिनुहुन्छ। विशेषगरी समालोचना विधामा उहाँको योगदान गहिरो र मानक स्थापित गर्ने खालको रहेको छ।
त्रिपाठीद्वारा प्रकाशित समालोचनात्मक कृतिहरूमा ‘नेपाली कविताको सिंहावलोकन’ (२०२७), ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’ भाग १ (२०३०) र भाग २ (२०४८), ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण’, ‘साहित्यकार पहलमान सिंह स्वाँरको पुनर्मूल्याङ्कन’, ‘साहित्य सिद्धान्तः शोध तथा सृजन विधि’ (२०६६) लगायतका कृतिहरू उल्लेखनीय छन्। साथै उहाँले ‘नेपाली बृहत् शब्दकोश’ (२०४०) मा विशेष सम्पादनमार्फत योगदान गर्नुभएको छ।
कविता र गीत विधामा पनि उहाँले ‘तीन थुँगा’, ‘देशको महिमा’, ‘सम्झनाकुञ्ज’, ‘जीवननिकुञ्ज’, ‘रचनाकुञ्ज’ लगायतका काव्यकृति प्रकाशित गर्नुभएको छ। उहाँका कृतिहरू नेपाली भाषासाहित्यमा उच्चस्तरीय बौद्धिक र प्राज्ञिक सम्पदा बनेका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका पूर्व डिन र नेपाली विभागका प्रमुखको रूपमा समेत कार्यरत रहनुभएका त्रिपाठीले विश्वविद्यालयस्तरमा शोधपरक समालोचना प्रणालीको प्रवर्तन गर्नुभएको छ।
त्रिपाठीको नाम सिफारिस गर्न साहित्य सन्ध्याले प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को संयोजकत्वमा प्राज्ञ माया ठकुरी र रमेश पोखरेल सदस्य रहने गरी तीन सदस्यीय स्रष्टा चयन समिति गठन गरेको थियो। सो समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गर्ने निर्णय भएको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए।
उक्त पुरस्कार २०८२ असोज २५ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिनेछ। पुरस्कार राशि पचास हजार रुपैयाँ रहेको छ।
प्रतिकृया दिनुहोस