• बिहीबार-श्रावण-१५-२०८२

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदम : संसद र सडकमा सशक्त आन्दोलनको तयारी

 

भैरहवा, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आवरणमा भइरहेका व्यापक भ्रष्टाचार र मानव बेचबिखनका मुद्दालाई थप प्रभावकारी ढंगमा उजागर गर्ने रणनीति तय गरेको छ । बुधबार भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।

 

बैठकमा चालु संसदिय अधिवेशनमा पार्टीका सांसदहरूले उठाएका जनसरोकारका विषयहरूबारे समीक्षा गर्दै भिजिट भिसा र मानव बेचबिखनका विषयलाई सदन र सडक दुबैबाट सशक्तरूपमा उठाउने निर्णय गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

 
उनका अनुसार, “हामीले संसदमा जनताको आवाज बुलन्द गर्न सफल भयौं। राज्यका नीति र कार्यशैलीका कारण जनताले भोगेका पीडाहरूलाई उजागर गर्दै भ्रष्टाचारका अन्य केसहरू पनि उठाएका छौं ।”

 

परियारले थपे, “हाम्रो आन्दोलनले जनतामा रास्वपा आफूसँगै छ भन्ने भावना स्थापित गरेको छ । सत्तारुढ दलहरूका साथ सम्झौता नगरेको हाम्रो अडानलाई जनताले समर्थन गरेका छन् । हामी संवादको ढोका खुला राख्दै, तर आन्दोलनको बाटो पनि अगाडि बढाउँदैछौं ।”

 

रास्वपाले संसदको सीमित संख्याबाट हैरान नभई, जनताको पक्षमा ठोस अडान लिने धारणा बनाएको जनाएको छ । “संख्या होइन, जनताको पक्षमा दृढ अडान लिने सोच हामीसँग छ । नेपाली कांग्रेस, एमाले र माओवादी समेत जनताको पक्षमा सहमत हुने आशा गरेका छौं,” परियारले भने ।

 

उनले मुलुकमा मौलाउँदै गएको संगठित अपराधको विरुद्ध सशक्त प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनलाई नयाँ ढंग र स्वरूपमा विस्तार गर्ने योजना रहेको बताए ।
 

 

प्रतिकृया दिनुहोस