• शुक्रबार-श्रावण-२-२०८२

एनआईसी एशिया बैंकका संचालक  संघई CIP बाट सम्मानित

काठमाडौं, साउन १, २०८२ । नेपाल सरकारबाट प्रदान गरिने ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP)’ सम्मान यस वर्ष एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघईले प्राप्त गरेका छन्। मुलुकको वाणिज्य, निर्यात प्रवर्द्धन र समग्र आर्थिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा संघईलाई सम्मान गरिएको हो।

नेपाल सरकारले आर्थिक र व्यापारिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यवसायी तथा उद्यमीहरूलाई प्रत्येक वर्ष ‘CIP’ को सूचीमार्फत औपचारिक सम्मान गर्दै आएको छ। संघईलाई उक्त सम्मान २०७२ असार ३२ गते आयोजित विशेष समारोहमार्फत प्रदान गरिएको हो।

संचालक संघईले लामो समयदेखि वित्तीय क्षेत्र, आयात–निर्यात व्यापार तथा औद्योगिक विकासमा अग्रसर भई राष्ट्रको समग्र आर्थिक गतिमा सशक्त योगदान पुर्‍याउँदै आएका छन्। निजी क्षेत्रमार्फत आर्थिक समृद्धिमा सक्रिय यस्ता व्यक्तित्वको कदर गर्नु राज्यको सकारात्मक पहलको रूपमा लिइएको छ।

यस गौरवपूर्ण उपलब्धिप्रति एनआईसी एशिया बैंक परिवारले संचालक संघईलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारद्वारा प्रदान गरिएको ‘CIP’ सम्मानबाट संचालक संघई शुशोभित हुनु हाम्रो बैंक र सम्पूर्ण निजी क्षेत्रका लागि गर्वको विषय हो।”

नेपालको एक अग्रणी बैंकको सञ्चालक हुनुका साथै व्यावसायिक इमानदारी, दिगो लगानी नीति र राष्ट्रहितमा केन्द्रित दृष्टिकोणका कारण संघई आर्थिक क्षेत्रका अनुकरणीय नेतृत्वकर्तामध्ये एक मानिन्छन्।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा प्रदान गरिने यो सम्मानले उद्यमशीलता, लगानी प्रवर्द्धन र व्यापारिक नीतिमा सुधारका लागि निजी क्षेत्रलाई थप प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस