काठमाडौं, साउन १ गते २०८२ । नेपाल सरकारद्वारा प्रदान गरिने ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (CIP)’ को सम्मान यस वर्ष पनि निजी क्षेत्रका अग्रणी प्रतिनिधित्व गर्ने व्यवसायीहरूलाई प्रदान गरिएको छ। यो सम्मान राष्ट्रको आर्थिक विकासमा योगदान दिने निजी क्षेत्रप्रति राज्यले देखाएको औपचारिक सम्मान र कदरको प्रतीक बनेको छ।
यस वर्ष पुनः CIP सम्मान प्राप्त गर्ने व्यवसायीहरूमध्ये एक, लगातार तेस्रो पटक यो सम्मान प्राप्त गरेका नेपाल उद्याेग बाणिज्य महासंघका अध्यक्ष उद्योगी-व्यवसायी चन्द्र प्रसाद ढकालले आफ्नो अनुभव यसरी व्यक्त गरे:
“मैले यसलाई निजी क्षेत्रको योगदानप्रति राज्यको कदरको रूपमा लिएको छु। यसले हामी व्यवसायीहरूलाई अझ उत्तरदायी र परिणाममुखी बन्ने प्रेरणा दिन्छ।”
यसपटक पनि याे सम्मान प्राप्त गर्ने व्यक्तित्व- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्लोबल बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको नाम विशेष रूपले चर्चा योग्य छ। उनी राष्ट्रवादी सोच, उत्पादनमुखी अर्थतन्त्रको पैरवी र निजी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र राष्ट्रकेन्द्रित दिशामा लैजाने नेतृत्वदायी क्षमताका लागि चिनिन्छन्।
ढकालको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले पछिल्लो समय आर्थिक नीतिमा सुधार, उद्योगमैत्री वातावरण र लगानी प्रवर्द्धनका लागि राज्यसँग सहकार्य गर्दै आएको छ। साथै, उनको अध्यक्षतामा रहेको IME Global Bank, हाल नेपालको सबैभन्दा ठूलो निजी बैंक बनेको छ-यसको सञ्जाल, पूँजी, प्रविधि र सेवा विस्तारमार्फत निजी बैंकिङ क्षेत्रको आमूल विकास भएको छ।
चन्द्रप्रसाद ढकालको नाम CIP सूचीमा समेटिनु आफैँमा राज्यले निजी क्षेत्रको ‘स्थानीय लगानी, रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन हितमा प्रतिबद्ध उद्यमशीलता’लाई सम्मान गरेको स्पष्ट संकेत हो। उनीजस्ता व्यवसायीहरूले निजी क्षेत्रलाई नाफामुखी मात्र होइन, राष्ट्रनिर्माणमा समान उत्तरदायी साझेदारको रूपमा स्थापित गरिरहेका छन्।
CIP सम्मान प्राप्त व्यक्तिहरूले देशको व्यापार, निर्यात, वैदेशिक मुद्रा आम्दानी, रोजगारी सिर्जना, नवप्रवर्तन, वित्तीय अनुशासन र उद्यमशीलता प्रवर्द्धनमा विशेष भूमिका खेलेका हुन्छन्। यस्तो सम्मानले नीतिनिर्माता र निजी क्षेत्रबीचको दूरी घटाउने, पारस्परिक विश्वासमा आधारित सहकार्यको बाटो फराकिलो बनाउने संकेत दिन्छ।
समग्रमा, यस वर्षको CIP सम्मान समारोह निजी क्षेत्रप्रतिको भरोसा र कदरको सन्देश बनेको छ। व्यवसायीहरूले व्यक्त गरेको प्रतिक्रिया जस्तै-“राज्यको सम्मानले जिम्मेवारी झनै बढाएको छ”-भनेझैँ, अबको बाटो थप उत्तरदायी, पारदर्शी र दीर्घदर्शी उद्यमशीलताको हुनुपर्छ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई सहकार्यको ढाँचामा परिणत गर्ने यो पहललाई अझ सुदृढ बनाउने अपेक्षा गरिन्छ।
साँघु न्यूज टिप्पणी :
CIP सम्मान केवल चन्द्र प्रसाद ढकालकाे व्यक्तिगत सफलताको साँचो होइन, यो देशको समष्टिगत आर्थिक यात्रा र निजी क्षेत्रको योगदानप्रति राज्यको औपचारिक आभार प्रकट गर्ने माध्यम हो। त्यसैले यस्ता सम्मानहरू निरपेक्ष, पारदर्शी र समावेशी ढंगले निरन्तर जारी राखिंदै गएमा नेपालमा उद्यमशीलताको नयाँ लहर सिर्जना हुनेछ-जसले 'समृद्ध नेपाल' को सपना व्यवहारमा रूपान्तरण गर्ने अपेक्षा गरिन्छ ।
प्रतिकृया दिनुहोस