• बिहीबार-श्रावण-१-२०८२

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग 

 

मकवानपुर । लगातारको वर्षाले हेटौंडा–काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ वर्षायामभरि बारम्बार अवरुद्ध हुने र पुनः सञ्चालनमा ल्याउने क्रम दोहोरिइरहेको छ । बाढी, पहिरो, र नदी कटानका कारण यो सडकखण्डमा नियमित रुपमा सवारी सञ्चालनमा समस्या आइरहेको छ ।

 

गत जेठदेखि असारसम्म सक्रिय मनसुनसँगै कान्तिलोकपथ सडकका विभिन्न स्थानमा पहिरो र कटानका कारण सवारी आवागमन अवरुद्ध भइरह्यो । यद्यपि सडक आयोजनाको सहयोगमा खुलाउने प्रयासहरू भइरहे पनि यात्रुहरूले जोखिमपूर्ण र कठिन यात्रा गर्नुपरेको छ ।

 

बेलिब्रिज समेत क्षतिग्रस्त

बागमती नदीमा डाइभर्सनको बहाव बढ्दा कान्तिलोकपथ अन्तर्गतको बेलिब्रिजसमेत क्षतिग्रस्त भएको थियो । असार २२ गते पुनः बेलिब्रिज जडान गरिएपछि चार दिनपछि मात्रै सडक आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो। यसबीच यात्रु र सवारीसाधन घण्टौँसम्म बाटोमै रोकिएको अवस्था देखिएको थियो । 

 

सडक स्थायित्वमा गम्भीर चुनौती

स्थानीय प्रशासनका अनुसार लगातारको झरीसँगै साना ठूला पहिरो, सडक कटान र जलमग्नताले गर्दा समयमा मर्मत सम्भव नभएको हो । हेटौंडा–५ का चालक स्याम तिमल्सिनाले रात्रीकालीन सवारी सञ्चालन थप जोखिमपूर्ण भएको बताए ।


प्राविधिकहरूका अनुसार कान्तिलोकपथको स्थायित्व अझै चुनौतीपूर्ण छ । छोटो दूरीको वैकल्पिक मार्ग भए पनि संकुचित मोड, खोला नजिकको भूभाग, तथा पहिरो सम्भावित क्षेत्रले गर्दा यो मार्ग वर्षायाममा अत्यन्त जोखिमयुक्त मानिन्छ ।

 

स्थायी समाधानको माग

स्थानीयवासी तथा सवारी चालकहरूले हरेक वर्ष उस्तै समस्या दोहोरिने भन्दै सडकमा स्थायी संरचनात्मक समाधान गर्न माग गरेका छन् । उनीहरूका अनुसार, सडक कटान भएका ठाउँमा तत्काल मर्मत, बलियो बेलीब्रिज जडान, तथा पहिरो सम्भावित स्थानमा संरक्षण उपायहरू अनिवार्य गरिनुपर्छ । 

 

आपूर्तिमा असर

सडक बन्द हुने क्रमले औषधि, खाद्य सामग्री र अन्य अत्यावश्यक सामानको ढुवानीमा समेत असर पारेको छ । यात्रुहरूले पूर्व जानकारी नपाउँदा घण्टौँ बाटोमै अल्झिनुपरेको गुनासो गरेका छन् । यातायात व्यवसायी ओम लामिछाने भन्छन्, ‘हामी जोखिम मोलेर यात्रा गरिरहेका छौँ। तर, हरेक वर्षको वर्षामा उस्तै समस्या आउँछ । अब सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउनु जरूरी छ ।’

 

प्रशासनको चेतावनी

वर्षा केही कम भएसँगै सडक सञ्चालन सामान्य बन्दै गएको भए पनि अझै केही साता जोखिम कायम रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयले यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र मौसमको पूर्वानुमानअनुसार यात्रा योजना बनाउन अनुरोध गरेको छ ।
 

 

प्रतिकृया दिनुहोस