मुस्ताङ, ३२, असार : मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्नुमा स्थानीय प्रशासनले रोक लगाएको छ । मार्फास्थित राजखोला छेउका सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको हो ।
मार्फास्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउखेती सुरू गर्न थालिएको समाचार स्थानीय सञ्चार माध्यमबाट प्रशारण भएको र केही व्यक्तिबाट गोप्य उजुरी परेकाले रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
मुस्ताङका प्रजिअ भुसालले त्यहाँको सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्ने व्यक्ति र संस्थालाई त्यहाँको जग्गासम्बन्धी आवश्यक कागजात लिएर आउनसमेत आग्रह गरिएको बताउनुभयो ।
पछिल्लो समय उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेतीतर्फ यहाँको किसानको आर्कषण बढेको छ । बिरुवा रोप्ने गरेको दोस्रो वर्षमै फलदिने भएकाले यहाँ हाइब्रिड खेती गर्ने प्रचलन बढेको हो । यसैका खातिर मुस्ताङका गाउँगाउँमा आफूखुसी गाउँले मिलेर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्ने होडबाजिनै चलेको छ ।
त्यसो त मुस्ताङको मार्फा मात्रै हाइन ,जिल्लाका पाँच वटै स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको पाइएको छ । यहाँको कूल क्षेत्रफलको दुई प्रतिशत जमिन मात्रै नापी भएकाले यहाँका सार्वजनिक जग्गा प्रयोगविहीन छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को कार्यविधि मापदण्डअनुसार यहाँको सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हो ।
---
प्रतिकृया दिनुहोस