• बिहीबार-श्रावण-१-२०८२

एनआईसी एशिया ग्राहकका लागि होमस्टेमा १०% छुट

काठमाडौं, असार ३२ गते । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच बैंकका ग्राहकलाई लक्षित गर्दै होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सहमति भएको छ।

सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुरस्थित चाँगुनारायण नगरपालिका अन्तर्गत सञ्चालित नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

१७ घरपरिवारको साझेदारीमा सञ्चालित यस होमस्टेमा सेवा लिँदा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप 'मोबाइल बैंकिङ्ग सेवा (NIC Asia MoBank)' मार्फत भुक्तानी गरेमा उक्त छुटको लाभ उठाउन सकिनेछ।

एनआईसी एशिया बैंकले पछिल्लो समय डिजिटल सशक्तिकरण तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएका कार्यक्रमहरू अन्तर्गत यो साझेदारीलाई पनि विशेष उपलब्धिका रूपमा हेरिएको जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले उक्त सहकार्यले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल भुक्तानीको अनुभव दिने विश्वास व्यक्त गर्दै दिगो ग्रामीण पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए।

एनआईसी एशिया बैंक हाल देशभर ४५० भन्दा बढी शाखा, ५०० भन्दा बढी एटीएम र लाखौँ डिजिटल बैंकिङ प्रयोगकर्तामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकको यस्तो पहलले बैंकिङ सेवा मात्र होइन, स्थानीय पर्यटन र समुदायको आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस