काठमाडौं, ३२ असार २०८२ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ मा सातै प्रदेशभर फैलिएका आफ्ना शाखाहरुबाट वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरी करिब दशौं हजार नागरिकमा वित्तीय चेतना अभिवृद्धि गरेको छ।
बैंकले कोशी प्रदेशका १९, मधेशका १६, बाग्मतीका ४७, गण्डकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ र सुदूरपश्चिम प्रदेशका ९ गरी कुल १४८ शाखाहरूबाट विविध कार्यक्रमहरू आयोजना गरेको हो।
वित्तीय ज्ञान अभिवृद्धिका लागि आयोजित यी कार्यक्रमहरूमा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने तयारीमा रहेका व्यक्तिसहित विभिन्न उमेर समूह तथा वर्गलाई लक्षित गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वका साथै डिजिटल बैंकिङसँग जोडिएका सम्भावित जोखिमबारे विस्तृत जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै देखिएका साइबर अपराध तथा जोखिमप्रति सचेत गराउँदै कार्यक्रममार्फत नगद कारोबार, लेनदेन तथा विप्रेषणका क्रममा बैंकिङ प्रणाली प्रयोग गर्न आग्रह गरिएको थियो। बैंकको विश्वास अनुसार, यस किसिमका कार्यक्रमले सर्वसाधारणमा वित्तीय ज्ञानको विकास गर्नुका साथै बैंकिङ प्रणालीलाई अझ मजबुत बनाउनेछन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरू तथा असहायका लागि काम गर्ने संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।
हालै मात्र विश्वको प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङ क्षेत्रमा समेत उल्लेखनीय पहलकदमी लिएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक "सिटिजन्स फोनपे क्रेडिट कार्ड" अर्थात् भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा CRN नम्बर सेवा सुरू गर्ने सुविधा दिने नेपालकै पहिलो बैंक बन्न सफल भएको छ।
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर तथा ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख १२ हजार ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले भविष्यमा पनि डिजिटल पहुँच र वित्तीय समावेशितामा आधारित सेवामार्फत देशव्यापी ग्राहक सन्तुष्टि अभिवृद्धिका कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिकृया दिनुहोस