• बिहीबार-श्रावण-१-२०८२

कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ


सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।


अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए ।


तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।


यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस