• मंगलबार-असार-३१-२०८२

नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आवद्ध

काठमाडौं, असार ३१ – नागरिक लगानी कोषद्वारा सञ्चालन गरिएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ। यससँगै लघुवित्तमा कार्यरत करिब ६ सय कर्मचारीले सो योजनाबाट लाभ लिन सक्नेछन्।

 

उक्त योजनामा सहभागिता जनाउने सम्बन्धी सम्झौतापत्रमा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीलघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गर्नुभएको हो।

 

कोषको यो योजना संविधानतः संगठित संस्था तथा संस्थाका कर्मचारीहरूका लागि लक्षित रहेको छ। योजनाअनुसार, योगदानमा आधारित (contributory) वा गैर-योगदानमा आधारित (non-contributory) आधारमा संस्था तथा संस्थाका कर्मचारीहरू उपदान कोषमा सहभागी हुन सक्नेछन्।

 

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको यो लघुवित्त संस्था हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।

 

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजना सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि सुरक्षित भविष्य र सामाजिक सुरक्षाको सुनिश्चितता दिने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो।

 

यस प्रकारको सहकार्यले लघुवित्त क्षेत्रका कर्मचारीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने लक्ष्यमा टेवा पुग्ने कोषको विश्वास छ।

प्रतिकृया दिनुहोस