इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्, जहाँबाट यो आन्दोलन औपचारिक रूपमा सुरु हुने जनाइएको छ । खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले यसलाई आन्दोलनको आधिकारिक सुरुवात भनेका छन् र उनका अनुसार अगस्ट ५ सम्ममा आन्दोलनलाई चरम सीमामा पुर्याउने बताएका छन् ।
शनिबार पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, केपी सीएम गंडापुर, र पञ्जाब विधानसभामा विपक्षी नेता मलिक अहमद खान भाचर पनि लाहोर पुगेका थिए । यसअघि इस्लामावादमा पार्टी नेताहरूको बैठक बसेको थियो, जसमा पञ्जाब विधानसभाबाट निलम्बित २६ विधायकको स्थिति र आन्दोलनको रणनीतिबारे छलफल भएको थियो ।
मुख्यमन्त्री गण्डपुरले देशमा लामो समय सेनाको शासन रहेको र अहिले अनौपचारिक सैनिक शासन चलिरहेको बताए । उनले भने कि इमरान खानलाई कुनै वैध कारण बिना जेलमा राखिएको छ । गण्डपुरले सबै प्रदेशमा स्थानीय मुद्दामा आधारित प्रदर्शनलाई सशक्त बनाउन अनुरोध गरेका छन् ।
गण्डपुरले भने, ‘हरेक सफल आन्दोलन लाहोरबाट सुरु हुन्छ, राष्ट्रव्यापी स्तरमा पनि सफल हुन्छ ।’ तर, प्रदर्शन अघि नै पञ्जाब प्रहरीले शाहदरा मोड र अन्य क्षेत्रमा पीटीआई नेता तथा कार्यकर्ताको घरमा छापा मारेर ५ जना कार्यकर्तालाई हिरासतमा लिएको छ ।
जनवरी १६ मा पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा सजाय सुनाएको थियो । इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्षको जेल सजाय सुनाइएको छ । दुवैमाथि राष्ट्रिय कोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ नोक्सान गरेको आरोप लागेको थियो । उनीहरु दुवैले पाकिस्तान सरकारको अर्बौं रुपैयाँको जग्गा बुशरा बीबीको अल कादिर ट्रस्टलाई सस्तोमा बेचेका थिए ।
यस मामिलामा इमरानलाई ९ मे २०२३ मा पक्राउ गरिएको हो, त्यसपछि उनी बिभिन्न आरोपमा जेलमा रहेका छन् ।
प्रतिकृया दिनुहोस