काठमाडौं, असार २८ गते । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालित ‘जनचेतना नेपाल’को आयोजनामा ‘विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२’ असार २७ गते शुक्रबार काठमाडौंस्थित भीमसेन गोला माध्यमिक विद्यालयमा सम्पन्न भयो।
सिनेमाका माध्यमबाट समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित सञ्चालनमा आएको जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा भएको कार्यक्रम ‘कुरीतिलाई पन्छ्याउँदै’ शीर्षकको जनचेतनामूलक गीतमार्फत आरम्भ भयो। गीतमा विपिन किरणका शब्द, बाबु बोगटीको स्वर र संगीत समावेश गरिएको थियो। त्यसपछि कवि सुरज पराजुलीले सोही गीतको भावनामा आधारित कविता प्रस्तुत गरे।
कार्यक्रमको सभापतित्व जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले गरे भने प्रमुख अतिथिका रूपमा वरिष्ठ अभिनेता, निर्देशक तथा नाट्यकर्मी आशान्त शर्मा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिनेत्री तथा समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता वासुदेव रिजाल, अभिनेता कविन्द्र त्रिपाठी, निर्देशक तथा साहित्यकार सुरज पराजुली, शिक्षाप्रेमी बिमला ढुङ्गाना, जनचेतना नेपालका राष्ट्रिय पर्यवेक्षक सचित खतिवडा, विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने र गणेश पहरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आशान्त शर्माले चलचित्र र नाटकबीचको भिन्नता, अभिनयका प्रविधिहरू, चलचित्र निर्माणका चरणहरू, प्रविधिको प्रयोग, विश्व र नेपाली सिनेमाको ऐतिहासिक विकासक्रम, अभिनय कला तथा पात्रनिर्माणका तरिकाबारे जिज्ञासु विद्यार्थीहरूलाई व्याख्या गर्दै ज्ञान बाँडे। उनले विशेष गरी विद्यार्थीलाई अभिनय, निर्देशन र सिर्जनात्मक सोचतर्फ आकर्षित गर्ने प्रयास गरे।
त्यसैगरी, विशिष्ट अतिथिहरू मुना निरौला त्रिपाठी, वासुदेव रिजाल, कविन्द्र त्रिपाठी लगायतले चलचित्र र नाट्य क्षेत्रको सामाजिक प्रभाव, सामाजिक उत्तरदायित्व, सिनेमा र चेतनाको सम्बन्ध जस्ता विषयमा धारणा राखे।
कार्यक्रमको अन्त्यतिर सभापति बालकृष्ण निरौलाले आफ्नो गुरु मोहन निरौलाको प्रेरणाको स्मरण गर्दै चलचित्र विकास बोर्डले गरेका उल्लेखनीय १० कार्यहरूको विवरण प्रस्तुत गरे। तीमध्ये चलचित्र विधेयक, चलचित्र दिवसको सुरु, आमाको पोस्टर अङ्कित हुलाक टिकट प्रकाशन, अनलाइन प्रणालीबाट ३३ सेवाहरूको सुरुआत, नेपाली चलचित्रको ऐतिहासिक पुस्तक प्रकाशन, पटकथा संग्रहालय स्थापनाको योजना, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष घोषणा, सबैभन्दा धेरै व्यापार गरेका २५ चलचित्रको सम्मान लगायतका विषयमा चर्चा गरे।
निरौलाले सबै सहभागीहरूलाई धन्यवाद दिँदै चलचित्र चेतनामार्फत सामाजिक परिवर्तन ल्याउन विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक बलराम पौड्यालले जनचेतनाका यस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई सिर्जनशील बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा विद्यालयस्तरमै यस्ता कार्यक्रम पुनः आयोजना गर्न आवश्यक रहेको बताए।
यसैबीच, चलचित्र चेतना अभिवृद्धिको लागि विद्यालयस्तरमै यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिनुपर्ने सहभागीहरूको धारणा थियो।
प्रतिकृया दिनुहोस