• बिहीबार-असार-२६-२०८२

ट्रम्पमाथि हमला प्रकरण : ६ गोप्य सेवा एजेन्ट निलम्बित, लापरवाहीको आरोप

 

वासिंगटन डिसी, २६ असार । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै ६ गोप्य सेवा एजेन्टलाई निलम्बन गरिएको छ । 

 

अधिकारीहरूलाई उद्धृत गर्दै एबीसी न्यूजले यो जानकारी दिएको हो । ट्रम्पको आक्रमणको एक वर्ष पूरा हुनुभन्दा ४ दिनअघि यो कारबाही गरिएको हो ।  तत्कालीन राष्ट्रपतिको उम्मेदवार ट्रम्पलाई १३ जुलाई २०२४ मा बटलर, पेन्सिलभेनियामा भएको चुनावी सभाको क्रममा सो गोली हानिएको थियो । यो गोली ट्रम्पको कानमा लागेको थियो र उनी घाइते भएका थिए ।

 

यस हमलामा ट्रम्पको र्‍यालीमा सहभागी भएका फायर फाइटर कोरी कम्पारेटोरको मृत्यु भएको थियो भने जवाफी कारबाहीमा घटनास्थलमा उपस्थित गोप्य सेवा स्नाइपरहरूले आक्रमणकारी, थोमस म्याथ्यू क्रुक्स (२० वर्ष) लाई गोली हानेका थिए ।

 

समाचार अनुसार निलम्बित एजेन्टहरूलाई पुनरावेदन गर्ने अधिकार दिइएको भने छ । एक अधिकारीका अनुसार उनीहरूलाई १० देखि ४२ दिनका लागि निलम्बन गरिएको छ । 

 

आक्रमणपछि अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको अनुसन्धान प्रतिवेदनले धेरै तहमा सुरक्षा निकायको लापरवाही र कमजोरीका कारण ट्रम्पमाथि आक्रमण सम्भव भएको खुलासा गरेको छ । यसरी कारबाही भोग्नेमा सिनियर अफिसरदेखि तल्लो तहका फिल्ड एजेन्टसम्म पर्दछन् ।


समाचारमा यो पनि भनिएको छ, ‘गोप्य सेवाले अब आफ्नो महत्वपूर्ण जिम्मेवारीहरू पूरा गर्न आवश्यक स्तरमा काम गरिरहेको छैन । यो संस्था अहिले एक अस्तव्यस्त र लापरवाह प्रणालीमा परिणत भएको छ जबकि धम्कीहरू निरन्तर बढ्दै गएका छन् र प्रविधि पनि उन्नत छ ।’ सो आक्रमणको दस दिन पछि तत्कालीन गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले नैतिकताको आधारमा राजीनामासमेत दिएका थिए ।

 

बटलर घटनाको नौ हप्तापछि ट्रम्पले फ्लोरिडाको वेस्ट पाम विचको गल्फ कोर्समा हुँदा अर्को घातक आक्रमणको सामना गर्नुपरेको थियो । यी दुवै घटनापछि ट्रम्पलाई राष्ट्रपति स्तरको सुरक्षा प्रदान गरिएको थियो र नयाँ सुरक्षा दिशानिर्देशका आधारमा उनको र्‍यालीको योजना हुन थालेको थियो ।


 

प्रतिकृया दिनुहोस