अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०२५ को इन्डिपेन्डेन्स डे (स्वतन्त्रता दिवस) मा सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरू केवल अमेरिकाको सन्दर्भमा सीमित छैनन् । उनले उठाएका शब्दहरू-''We the People", "We Shall Overcome", "Yes We Can" आज विश्वका सबै लोकतान्त्रिक अभ्यास गर्ने राष्ट्रहरूका लागि आत्ममूल्यांकन र पुनर्जागरणको निम्ति अपिल जस्ता छन् ।
पूर्व राष्ट्रपति बाराक ओबामाको भनाइ थियो–
“अमेरिका कुनै एक व्यक्तिको परियोजना होइन । लोकतन्त्रमा सबैभन्दा शक्तिशाली शब्द हो ’हामी’। अहिलेको यो ऐतिहासिक मोडमा, जब लोकतान्त्रिक मूल्यहरू निरन्तर आक्रमणमा परेका छन्, हामी सबैले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्छ–के हामीले जनताको निम्ति, व्यावहारिक र समावेशी लोकतन्त्र बनाउने प्रयास गरिरहेका छौं ?’’ यो अभिव्यक्तिमा आजको नेपालको स्थितिले गहिरो प्रतिबिम्ब देखिन्छ ।
🔴 लोकतन्त्र : नेतृत्वको होइन, नागरिकको स्वामित्व
ओबामाको भनाइमा विशेष जोड “लोकतन्त्र कुनै एक व्यक्तिको परियोजना होइन” भन्नेमा छ । यो भनाइ नेपाली सन्दर्भमा झनै सान्दर्भिक बन्छ जहाँ लोकतन्त्रलाई नेता–केन्द्रित, व्यक्ति–केन्द्रित ढाँचामा जकडिने खतरा बढ्दो छ । दलहरूभित्र लोकतन्त्र नभई व्यक्ति पूजा, संगठन नभई सिण्डिकेटको शासन देखिन्छ ।
यस्तो अवस्थामा ओबामाले दिएको "America is owned by no one. It belongs to all citizens." भन्ने वाक्यले लोकतन्त्रको सार हामी सबैलाई स्मरण गराउँछ–
👉 देश कुनै व्यक्ति, गुट वा दलको होइन, जनताको हो ।
🔴 नेपाली जनताको ‘हामी’ हराउँदैछ ?
नेपाली लोकतन्त्रको लडाइ“ पनि "We the People"बाट सुरू भएको थियो–
२००७ सालको प्रजातान्त्रिक क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलन वा संघीय गणतन्त्रको घोषणा–यी सबैमा ‘हामी’ नै निर्णायक शक्ति बन्यो ।
तर आज, दुर्भाग्य ?
–नागरिक अधिकार सीमित छन्,
–युवाहरू निराश छन्,
– राजनीति व्यवसायिक र निष्प्राण भएको छ,
– लोकतन्त्र जनताको नभई, बिचौलिया, दलाल भ्रष्ट र नेतृत्वको हतियार जस्तो देखिन थालेको छ ।
यस अर्थमा ओबामाको "We Shall Overcome" भन्ने सन्देश प्रेरणा मात्र होइन, चुनौती पनि हो ।
🔴 प्रजातन्त्रको सारः बोल्ने होइन, बुझाउने
ओबामाले स्पष्ट भनेका छन् :
"Now is the time to ask ourselves tough questions about how we can build our democracies and make them work in meaningful and practical ways for ordinary people."
यही वाक्य आज नेपालको सन्दर्भमा झनै महत्वपूर्ण छन् । के हाम्रो लोकतन्त्रले सुशासन दिन सकेको छ ? साधारण जनताको जीवन सुधार्न सकिरहेको छ ? के हाम्रो राज्य व्यवस्था हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, सामाजिक सम्मान जस्ता विषयमा उत्तरदायी छ ? जवाफ स्पष्ट छैन ।
यदि लोकतन्त्रले जनताको जीवनमा सुधार ल्याउन सकेन भने, त्यो केवल संविधानको किताबमा सीमित शाब्दिक अभ्यास मात्र हुनेछ ।
नेपालमा पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता संरचनाहरूमा विश्वास गुमाउँदै गएका नागरिकहरूलाई अब उज्यालो देखाउने काम राजनीतिक नेतृत्वले गर्नुपर्छ । यो पुनर्निर्माण केवल भाषण, नाराबाट होइन–प्रणाली सुधार, जवाफदेही शासन र निष्पक्ष अवसरबाट मात्र संभव छ ।
निष्कर्षः ओबामाको सन्देश, हाम्रो चेतना
बाराक ओबामाको सन्देश केवल अमेरिकाका लागि होइन । यो संसारभर लोकतन्त्रमा विश्वास राख्ने सबै नागरिकका लागि हो–
नेपालका लागि त झनै । पूर्व राष्ट्रपति बाराक ओबामाले याद दिलाएका छन्–
लोकतन्त्र कुनै एक नेतृत्वको कब्जा होइन, नागरिकको सामूहिक स्वामित्व हो ।
र, जब त्यो स्वामित्व ‘हामी’बाट ‘उनीहरू’मा सरेको महसुस हुन थाल्छ–त्यो लोकतन्त्रको अन्त्यको सूचक हो ।
त्यसैले आजको दिनमा, नेपालमा हामी सबैले यही प्रश्न सोध्नुपर्छः
"Yes We Can" भन्ने आत्मविश्वास अझै बाँकी छ ? कि “अब हामी सक्दैनौं” भन्न थालिसक्यौं ?
यो देशको भविष्य, लोकतन्त्रको जीवन र नागरिकको अधिकार अब कसैले दिएका कुरा होइनन्–हामीले जोगाउनु पर्ने जिम्मेवारी बनेका छन् ।
२०८२ असार २१ गते/२०२५ जुलाई, ७ ।
प्रतिकृया दिनुहोस