सर्लाही, असार २१, २०८२। सर्लाही जिल्लामा भुस बोकेको ट्रकभित्र लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा काजु बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा हानी उक्त तस्करी नियन्त्रणमा लिएको हो।
भुस ढुवानीका लागि प्रयोग गरिएको ग.२ ख १४१८ नम्बरको ट्रक शनिबार राति कर्मैया–हरिपुर मार्ग हुँदै दक्षिणतर्फ जाँदै थियो। ट्रकको गतिविधिप्रति शंका लागेपछि इ.प्र.का. कर्मैया टोलीले उक्त ट्रकलाई रोकेर चेकजाँच गर्दा, भुसको थुप्रोमुनि लुकाएर राखिएका ३० बोरा काजु फेला पारिएकाे हाे ।
तस्करी नियन्त्रण अभियानको नेतृत्व सब इन्स्पेक्टर सुवास यादवले गरेका थिए। उनको नेतृत्वमा खटिएको प्रहरी टोलीले अत्यन्तै सावधानीपूर्वक ट्रकको तलासी लिएको थियो। प्रारम्भिक अनुमानअनुसार बरामद काजुको मूल्य करिब १५ लाख रुपैयाँभन्दा बढी हुनसक्ने बताइएको छ।
प्रहरीका अनुसार काजु भारतबाट तस्करी गरी नेपाल भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तस्करहरूले भन्सार छल्नका लागि भुसको आवरण प्रयोग गरेको देखिन्छ।
बरामद गरिएको काजुसहितको ट्रक र संलग्न चालक प्रहरी नियन्त्रणमा रहेका छन्। पक्राउ परेका ट्रक चालक र सहयोगीमाथि प्रारम्भिक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा तस्करीमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा गिरोहको सञ्जालबारे विस्तृत खोजी भइरहेको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिए।
काजुजस्ता महँगा वस्तुहरू सजिलै ओसारपसार भइरहेकोले सर्लाही जिल्ला तस्करहरूको ट्रान्जिट बन्दै गएको चिन्ता स्थानीय सुरक्षाकर्मीले व्यक्त गरेका छन्।
यस प्रकारको घटनाले भन्सार प्रशासन, खाद्य सुरक्षालगायतका सरकारी संयन्त्रहरूमा पनि प्रश्न उठाइरहेको छ। केही स्थानमा प्रहरीको सक्रियताले अवैध कारोबारको कहिलेकहीँ पर्दाफास भएको भए पनि, यस्तो खालको तस्करी रोक्न अझ कडा निगरानी र अन्तरसंयोजन आवश्यक देखिएको छ।
प्रहरीले अब बरामद काजु, ट्रक र संलग्न पक्षलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरिरहेको छ।
प्रतिकृया दिनुहोस