काठमाडौँ, २१ असार : काठमाडौँ महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ ।
कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गर्नुभएको हो ।
गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
यसकारण नेतृत्वको खोजी भएको हो । उहाँले भन्नुभयो, “साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।”
छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राख्नुभयो ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गर्नुभयो ।
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नन्ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ ।
उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।
---
प्रतिकृया दिनुहोस