कैलाली, असार १९ गते । सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव(असार १७गते)का अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विविध सामाजिक तथा मानविय कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अवसरमा महिला सशक्तिकरणमा योगदान पुर्याउने समाजसेवी महिला तथा उत्कृष्ट कार्य प्रदर्शन गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गरिएको छ।
कार्यक्रम अन्तर्गत नेपाल एपीएफ स्कूल, झलारी कञ्चनपुरलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ भने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। शिविरमा स्थानीय नागरिकहरूले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्राप्त गरेका थिए।
यही सन्दर्भमा बाहिनी मातहतका विभिन्न इकाइ तथा कार्यालयहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विभिन्न रचनात्मक कार्यहरू पनि गरेका छन्। तिनमा स्थानीय मठ–मन्दिर सरसफाइ, रक्तदान कार्यक्रम, बृद्धाश्रम र अनाथालयमा खाद्यान्न वितरण, अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण, र विद्यालयहरूलाई शैक्षिक सामग्री हस्तान्तरण जस्ता कार्यहरू उल्लेखनीय छन्।
बाहिनी मुख्यालयका अनुसार, यस्ता कार्यक्रमहरू महिला संघको स्थापनाको मूल भावना-"महिलाको सशक्त सहभागिता र समाजप्रतिको उत्तरदायित्व"-लाई मूर्तरूप दिने प्रयासका रूपमा लिइएको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सहभागिहरूले सशस्त्र प्रहरी परिवार महिला संघले पछिल्लो दुई दशकभन्दा बढी समयदेखि गर्दै आएको योगदानको प्रशंसा गरेका थिए।
सशस्त्र प्रहरी बल नेपालको महिला संघद्वारा सञ्चालित यस्तो कार्यक्रमले सामाजिक सेवा, महिला सशक्तिकरण र सुरक्षा संयन्त्रको नागरिकमुखी पहिचान निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको सन्देश दिएको छ।
प्रतिकृया दिनुहोस