• बिहीबार-असार-१९-२०८२

भोजपुरमा छायांकन गरिएको "तिम्रै माया लाग्छ" सार्वजनिक

भोजपुर, असार १९ गते । कोशी प्रदेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाहरूले भरिपूर्ण भोजपुर जिल्लामा छायांकन गरिएको नयाँ म्युजिक भिडियो "तिम्रै माया लाग्छ" सार्वजनिक भएको छ। एभरेष्ट ग्यालरीको राष्ट्रिय अभियान "दृश्यमा नेपाल" अन्तर्गत "दृश्यमा भोजपुर" शृंखलामा समावेश गरिएको यस गीतले भोजपुरको सौन्दर्यलाई कलात्मक ढंगले उजागर गरेको छ।

 

गायक उमेश मुस्कान र गायिका निरुता राइको स्वर रहेको उक्त प्रेमिल गीतमा मोडल सनम कठायत र गायिका स्वयं निरुता राइको आकर्षक अभिनय देख्न सकिन्छ। गीतका शब्द र संगीत गायक मुस्कान स्वयंले तयार पारेका हुन्।

 

भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले र सह-निर्देशन आयुश शाहीले गरेका छन्। भिडियोको निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको हो। दृश्य, संगीत, कला र प्रविधिमैत्री पर्यटन तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ग्यालरीले सुरु गरेको "दृश्यमा नेपाल" अभियानअन्तर्गत भोजपुरमा यस प्रकारको कलात्मक प्रस्तुति गरिएको हो।

 

कार्यक्रमका संयोजक समेत रहेका कलाकार सनम कठायतका अनुसार यस अभियानले कला र पर्यटनको समन्वय गर्दै मुलुकका विभिन्न जिल्लामा त्यहाँको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई दृश्य माध्यमबाट प्रचार गर्ने उद्देश्य राखेको छ। कठायतले भने, "भोजपुरको मनोरम दृश्य र सांस्कृतिक सम्पदालाई म्युजिक भिडियोमार्फत देखाउने प्रयास गरेका छौं। दृश्यमा भोजपुर हाम्रो अभियानको महत्वपूर्ण कडी हो।"

उक्त म्युजिक भिडियो अहिले युट्युबलगायत डिजिटल प्लेटफर्महरूमा हेर्न सकिनेछ। भोजपुरको हरियाली, डाँडाकाँडा, पुरातात्त्विक स्थल र जीवनशैलीलाई समेटेर बनाइएको यस भिडियोले दर्शक र पर्यटक दुवैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 

भोजपुरको पर्यटन प्रवर्द्धन र स्थानीय कला संस्कृतिको उजागरमा सघाउने उद्देश्यसहित बनेको "तिम्रै माया लाग्छ" म्युजिक भिडियोले राष्ट्रिय स्तरमै नयाँ दृष्टिकोण सिर्जना गर्ने सम्भावना बोकेको छ।

प्रतिकृया दिनुहोस