• बिहीबार-असार-१९-२०८२

साम्बाको गोल वर्षा, श्रीलङ्का थामिन सकेन, नेपालको लगातार दोस्रो जित

 

काठमाडौँ, १८ असार : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । 

 

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै नेपालले दुई खेलमा ६ अङ्क बटुलेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो ।

 

नेपालको जितमा साम्बाले ह्याट्रिक पूरा गरिन् भने गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक÷एक गोल गरे । खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् । 

त्यसपछि खेलको खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । नेपालका लागि साम्बाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गोल गरिन् । तर रेफ्रीले गोल दिएनन् । त्यसपछि खेलको ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा साम्बाले एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

    
खेलको ५३औँ मिनेटमा श्रीलङ्काकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् । खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् । 

 

त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलङ्कामाथि ८–० गोलको जित हासिल ग¥यो । अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । 

 

पराजित श्रीलङ्काको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलङ्का घरेलु टोली उज्वेकिस्तानसँग १०–० गोलअन्तरले पराजित भएको थियो । 
---

 

प्रतिकृया दिनुहोस