बैतडी, १८ असार : गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पार्नुभएको छ । बैतडी आइपुग्नुभएका लेखकले आज आयोजित अन्तक्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “दुई ठूला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सातबुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।” केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताउनुभयो ।
गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबैकुरा पूरा हुन नसकेका बताउँदै उहाँले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।” कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उहाँको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो । यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराउनुभयो ।
सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराउनुभयो । यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापनपत्रसमेत बुझाउनुभएको छ ।
दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । गृहमन्त्री भएपश्चात् लेखक पहिलोपटक जन्मघर बैतडी पुग्नुभएको हो ।
---
प्रतिकृया दिनुहोस