काठमाडौं-राजधानीको एक महत्वाकांक्षी भनिएको “काठमाडौं भ्यु टावर” निर्माण परियोजनाका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.का सञ्चालक मनोज भेटवाल चेक बाउन्स (बैंकिङ कसुर) को आरोपमा २०८२ असार १३ गते पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई असार १३ गते शुक्रबार बिहान राजधानीकै एक स्थानबाट नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएकाे प्रहरी स्राेत बताउछ । स्राेतका अनुसार, शक्ति केन्द्रहरकाे दवावमा पक्राउलाई गुपचुप राखेर भगाउने प्रयास गरिएकाे छ ।
भेटवालले विभिन्न व्यक्तिहरूलाई करोडौं रुपैयाँ बराबरका चेक काटेका थिए, तर ती चेकहरू खातामा रकम नभएकै कारण बाउन्स भएका थिए । काठमाडाैं प्रहरी परिसरले प्रारम्भिक अनुसन्धानमा भेटवालविरुद्ध बैंकिङ कसुरअन्तर्गत थुप्रै उजुरी परेको पुष्टि गरेको छ।
सयौं पीडित, करोडौंको ठगी
प्रहरी स्रोतका अनुसार, भेटवालको कारोबार शैलीले स्क्याम गरेर मगर समुदायका सयौं व्यक्तिलाई आर्थिक रूपमा ठगिएको अनुभव गरिरहेका छन् । तीमध्ये धेरैले काठमाडौं भ्यु टावर परियोजनामा कराेडाैं हाेइन अर्बाैं लगानी गरेका थिए, भने केहीले विभिन्न व्यावसायिक सम्झौताका आधारमा चेकमार्फत भुक्तानी लिनुपर्ने अवस्थामा ठगीको शिकार भएका छन् ।
एक प्रहरी अधिकारीका अनुसार, “भेटवालको आर्थिक व्यवहार अत्यन्त जटिल छ। उनले देखिनेगरी ठूला संरचनामा लगानीको सपना देखाएर ठगी गर्दै आएका थिए। दर्जनौं उजुरी र प्रमाणहरू संकलन भइसकेका छन्। यो चेक बाउन्स मात्र हैन, यो एक योजनाबद्ध आर्थिक अपराध हो।”
काठमाडौँ भ्यु टावर: सपना कि धोका ?
पुरानो बसपार्क क्षेत्र (खुलामञ्च वरपर) मा निर्माणाधीन काठमाडौं भ्यु टावर एक बहुप्रचारित, बहुउद्देश्यीय संरचना हो, जसको निर्माणको जिम्मा इन्योभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. लाई दिइएको थियो।
यस टावरलाई आधुनिक होटल, अफिस, व्यापारिक मल, र पर्यटक केन्द्रका रूपमा परिकल्पना गरिएको थियो। तर, सम्झौता भएको दशक पार हुँदा पनि भौतिक प्रगति अत्यन्त निराशाजनक रहँदै आएको छ।
भेटवालको नेतृत्वमा सुरु गरिएको यो आयोजना करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लागतमा बन्ने भनिएको थियो। यद्यपि, अदूरदर्शी व्यवस्थापन, लगानीकर्तासँगको विश्वासघात, बैंक ऋणको दुरुपयोग, र प्रशासन, सरकारी निकायहरूसँगको मिलेमतोले यस आयोजना अब “अधुरो सपना” मात्र बनेको छ।
भेटवालविरुद्ध अघिल्लो आरोपहरूको झझल्को
यो भेटवालविरुद्ध पहिलो मुद्दा भने होइन।
२०७९ मा पनि उनलाई बैंक ऋण दुरुपयोग र चेक बाउन्सका मुद्दामा पक्राउ गरिएको थियो।
विभिन्न वाणिज्य बैंकहरू, सहकारी संस्थाहरू, र व्यक्तिहरूसँगको लेनदेनमा व्यापक बेइमानी गरेको आरोप उनमाथि पटक–पटक लाग्दै आएको छ।
स्रोतहरूका अनुसार उनले बैंकिङ प्रणालीमा पहुँच प्रयोग गरी करोडौंको ऋण असुल गरी त्यही रकमबाट आफ्नो प्रतिष्ठानहरू चलाइरहेका थिए
अबको प्रक्रिया के हुन्छ ?
भेटवाललाई न्यायिक हिरासतमा राखेर थप अनुसन्धान गरिनु पर्नेमा सत्ता र शक्ति केन्द्रकाे दवावमा भेटवालकाे पक्राउलाई गुपचाप राखेर पक्राउ नै नपरेकाे भन्ने झुठाे विवरण सार्वजनिक गर्ने तयारी गरिएकाे पीडितहरू बताउछन् ।
निज आराेपीविरूद्ध प्रहरी परिसर काठमाडाैं उजुरी परेकाे आधारमा पक्राउ गरिएकाे प्रहरीले पक्राउलाई सार्वजनिक नगरी पीडितहरूलाई न्याय हाेइन कि अन्याय गर्ने भन्ने आवाज उठ्न थालेकाे छ ।
काठमाडौं महानगरपालिकासँग गरिएको सम्झौता, पुरानो बसपार्क क्षेत्रको सार्वजनिक उपयोग र सम्पत्तिको दुरुपयोगको विषयमा पनि अनुसन्धान सँगसँगै अघि बढ्नु पर्ने काठमाडाैं महानगरपालिका स्राेत बताउछ ।
निष्कर्ष
भेटवालको गिरफ्तारीले “काठमाडौं भ्यु टावर” मा लगानी गरेका सयौं व्यक्तिमा आशा पलाएको थियाे । उनीहरूले आफ्नो पैसा फिर्ता पाउने सम्भावना देखेका थिए ।
तर, शक्ति केन्द्रकाे दवावले संवेदनशील कसुरमा पक्राउ परेकाे आराेपीलाई गुपचुप रूपमा छाडिएकाे आशंका पीडितहरूले गरेका छन् ।
तर, यो घटनाले प्रहरीप्रतिकाे विश्वसनीयता, राज्यको नियमन प्रणाली, ठूला आयोजनाहरूमा पारदर्शिता, र निजी ठेकेदारको जवाफदेहिताको गम्भीर प्रश्न उठाएको छ। अब प्रश्न उठेको छ-काठमाडौं भ्यु टावर साँच्चिकै बन्ने हो त, कि भेटवालसँगै त्यो सपना पनि बाउन्स भएर हराउनेछ ?
प्रतिकृया दिनुहोस