• शुक्रबार-असार-१३-२०८२

काठमाडौँमा पाकिस्तानी दूतावासद्वारा २०० नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण


काठमाडौँ, असार १३ – पाकिस्तानी दूतावास, नेपालले नेपाली विद्यार्थीहरूको शिक्षा प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिँदै २०० जना योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। राजधानीमा आयोजित एक भव्य समारोहमार्फत दूतावासले छात्रवृत्ति वितरण गर्दै नेपालको शिक्षा क्षेत्रप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पाकिस्तानी राजदूत अब्रार एच. हाश्मी, राजनीतिक तथा शैक्षिक काउन्सलर इकबाल हैदरसहित दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै सांसद ढकालले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूलाई शिक्षाप्रति समर्पित हुन प्रेरित गरे। उनले भने, “तपाईंहरूको शिक्षा नै तपाईंहरूको भविष्यको आधार हो। त्यसैले यसलाई गम्भीरतापूर्वक लिई निरन्तरता दिनुहोस्।” उनले पाकिस्तानी दूतावासको यो पहल नेपाली विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे।

 

पाकिस्तानी दूतावासको छात्रवृत्ति कार्यक्रम यस वर्ष १३औं वर्षमा प्रवेश गरेको बताइएकाे छ। विभिन्न आर्थिक, सामाजिक तथा भौगोलिक पृष्ठभूमिका नेपाली विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिँदै आएको यो कार्यक्रमले धेरै युवालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याएको छ।

 

राजदूत हाश्मीले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी शिक्षा क्षेत्रलाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको आधार मान्दछौं। नेपाली विद्यार्थीहरूलाई सहुलियत र अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं।”

राजदूत हाश्मीले छात्रवृत्तिको मात्र नभई शैक्षिक तालिम, सांस्कृतिक विनिमय, र अनुसन्धानका क्षेत्रमा समेत सहकार्यलाई विस्तार गर्न सकिने संकेत गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। दूतावासले शिक्षा प्रवर्द्धनको उद्देश्यसाथ आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

 

पछिल्लो समय नेपालमा पाकिस्तानी दूतावासले शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सक्रियता देखाउँदै आएको छ। नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम त्यसैको एउटा स्थायी पहलको रूपमा स्थापित भइसकेको दूतावासले बताएकाे छ।

 

दूतावासले आगामी वर्षहरूमा छात्रवृत्ति संख्यामा बृद्धि गर्दै, ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिने लक्ष्य लिएको समेत जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस