बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध करिब ७ करोड बिगो मागसहित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्धा दायर गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, क्रेता कम्पनी आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मा, साथै हिक्मतप्रसाद आचार्य र विनोद थापाविरुद्ध कार्यालयले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार नवज्योती ट्रेडर्सले ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको अनुसन्धानमा पाइएको हो ।
मूल्य अभिवृद्धि कर र भन्सार चोरी गरी ल्याइएको बस्तुको आधारमा यादवविरुद्ध ३ करोड ४६ लाख ६२ हजार ७५३ रुपैयाँ २३ पैसा बराबरको बिगो कायम गरिएको छ । उनीमाथि बिगो असुलीका साथै शतप्रतिशत जरिवाना र हदैसम्मको कैद सजाय मागदाबी गरिएको छ ।
त्यसैगरी, चिनी खरिदमा संलग्न रहेका पुष्पा शर्मामाथि रु ११ लाख ७१ हजार ५०० रुपैयाँ बराबरको भन्सार छली गरेको आरोप लगाइएको छ । शर्मालाई पनि बिगो जफत गरी जरिवाना र हदैसम्मको कैद सजाय दिन माग गरिएको छ ।
अन्य दुई प्रतिवादीमध्ये हिक्मतप्रसाद आचार्यले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले आधा सजाय माग गरिएको छ भने, विनोद थापालाई राजस्व चुहावटको कसुरमा संलग्न रहेको भन्दै जरिवाना र कारबाही माग गरिएको छ ।
प्रतिकृया दिनुहोस