गाजा, ११ असार (रासस/सिन्ह्वा) : इजरायली सुरक्षाकर्मीहरूले गाजा क्षेत्रमा गरेको हवाई आक्रमण तथा गोली प्रहारका कारण बुधबार कम्तीमा ३८ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाका स्वास्थ्य स्रोतहरूले जानकारी दिएका छन् ।
गाजाको दक्षिणी भागमा भएको झडपका क्रममा इजरायली सेनाका सात जना सुरक्षाकर्मीको ज्यान गएको पनि इजरायली सेनाले जानकारी गराएको छ । स्थानीय प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीहरूका अनुसार, गाजाको केन्द्रमा रहेको नेतजारिम गलैंचामा अमेरिकी सहयोग प्राप्त खाद्य सहायता वितरण केन्द्र नजिकै खाना लिन पर्खिरहेका नागरिकहरूलाई लक्षित गरी गोली चलाइएको थियो । अल–अव्दा अस्पतालले १० वटा शवहरू प्राप्त भएको र ५३ जना घाइतेको उपचार गरिएको जनाएको छ ।
त्यसैगरी, गाजाको दक्षिणी क्षेत्रमा पर्ने राफाहको उत्तरतर्फको अल–शकुश क्षेत्रमा भएको अर्को घटनामा इजरायली फायरिङबाट एक जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार गाजा सहरको पूर्वी क्षेत्रमा रहेको अल–शुजैय्या क्षेत्रमा एक इन्धन स्टेशननजिक रहेको भवनमा भएको हवाई आक्रमणका कारण एउटै परिवारका सात सदस्यहरूको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।
त्यस्तै, देर अल–बालाह, अल–नुसेरात शरणार्थी शिविर र जबालियामा भएका अन्य आक्रमणहरूमा पनि कम्तीमा १५ जनाको मृत्यु भएको तथा अरू केही हराइरहेका जनाइएको छ । गाजाको पश्चिमी क्षेत्रमा रहेको अन्सार सरकारी भवन नजिक भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ, जसमा एक महिला र एक बालक पनि परेका छन् ।
यी घटनाहरूमा इजरायली पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन । यसैबीच, इजरायली सेनाले मंगलबार गाजाको दक्षिणमा एक सशस्त्र सवारीसाधन विस्फोटमा परेको घटनामा सात जना आफ्ना सैनिकको ज्यान गएको पुष्टि गरेको छ ।
इजरायलले मार्च १८ देखि गाजामा पुनः सैन्य कारबाही सुरु गरेको हो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता पाँच ७५९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १९ हजार ८०७ जना घाइते भएका छन्।
युद्ध सुरु भएको सन् २०२३ को अक्टोबर यता गाजामा कूल ५६ हजार ७७ जनाको मृत्यु भएको र एक लाख ३१ हजार ८४८ जना घाइते भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस