काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बुधबार बयान सकेर थुनछेक बहस भएको हो । बहस सकिएसँगै आजै आदेश आउने छ ।
थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।
सरकारीपक्षले मन्त्रिपरिषद्ले २२ पुस २०६६ मा गरेको निर्णय २९ पुसमा उल्ट्याएर पतञ्जलिको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस