काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ ।
शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आमरण अनशनपछि नेपाल स्काउट सँग सम्बन्धित मन्त्रालयको पहलमा छानबिन समिति गठन गरिएको थियो । उक्त समिति २०८२ साल वैशाख ५ गतेदेखि सक्रिय भएको हो ।
संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुंग्याउनुपर्ने अवस्था सिर्जना गरिएको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए ।
‘हाम्रो माग र सुझाव बिना नै समितिमा रहेका हाम्रा प्रतिनिधिहरूको सल्लाह र सहमति बिना, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको पाइएको छ,’ अधिकारीले भने । छानबिन समितिको छलफल र तथ्यहरूको आधारमा निलम्बित निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोप निराधार नभएको र उनलाई सफाइ दिई ४५ दिनको बिदा स्विकृति गराई विदेश पठाइएको खुलासा गरिएको उनले बताए । ‘यस्ता गतिविधिहरू ठूलो चलखेलअन्तर्गत भएको अनुमान गर्न सकिन्छ,’ संयोजक अधिकारीले भने ।
शुद्धीकरण अभियानले आफ्नो तर्फबाट छानबिन समितिमा सहभागी प्रतिनिधिहरूले तयार पारेको वास्तविक प्रतिवेदन सार्वजनिक गरेको छ । ‘समितिले तयार पारेको प्रतिवेदन गोप्य हुन सक्दैन, किनभने यो स्काउटका सम्पूर्ण सदस्यको भावनासँग जोडिएको विषय हो,’ उनले भने ।
उनले प्रतिवेदन अनुसार निलम्बनमा परेका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेका आरोपहरू गम्भीर रहेकाले उनलाई सफाइ दिने ठाउँ नभएको बताए । साथै, वर्तमान प्रमुख आयुक्त पनि सोही कार्यशैलीमा संलग्न रहेको देखिएको र संस्थामा सुधारको अपेक्षा त्यही नेतृत्वबाट गर्न नसकिने स्पष्ट पारे ।
‘अब हामी वैकल्पिक उपाय अवलम्बन गरेर स्काउट संस्थालाई सुधार गर्ने दिशामा लाग्नेछौं,’ संयोजक अधिकारीले बताए।
प्रतिकृया दिनुहोस