काठमाडौँ ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले विश्व बैंक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैंकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्ववृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउँदै जलवायु परिवर्तनका लागि विश्व समुुदायलाई नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुुपर्नेमा जोड दिनुभयो । उहाँले आफूू पहिलो पटक प्रधानमन्त्री हुँदा पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको तर भूकम्प र बाढी पहिरोजस्ता विपद्का कारण पुनः निर्माणका काममा लाग्नुपरेकाले सोचे जति विकास हुन नसकेको स्थितिमा अब उत्पादन, बजारीकरण र रोजगारीवृद्धिका लागि लागिएकाले यसमा बैंकजस्ता संस्थाको सहयोग आवश्यक हुने बताउनुभयो ।
प्रमुु्ख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र अर्थ मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस