बारा, जेठ ३१ गते । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा झण्डै ४० लाख रुपैयाँ बराबरको चोरीपैठारी सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराको टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिकैबाट ती सामानहरू बरामद गरेको हो ।
प्राप्त जानकारीअनुसार साईकल प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको एअरपोड प्रो र मोबाइल फोनको टेम्पर ग्लास सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरिएको सामानको बजार मूल्य करिब ३९ लाख १२ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीको अनुमान छ ।
सामान ओसारपसार गरिरहेका व्यक्ति भने सशस्त्र प्रहरीको निगरानी देखेपछि फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । तस्करीमा प्रयोग गरिएको साईकल पनि फेला परेको बताइएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएका वस्तुहरू आवश्यक कारबाही तथा अनुसन्धानको प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रजंग शाहीका अनुसार सीमावर्ती क्षेत्रमा चोरीपैठारी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप सशक्त पारिएको छ । “सीमावर्ती क्षेत्रमा पैदल गस्ती, सूचनाका आधारमा कारबाही र स्थानीयको सहयोगमा निगरानी बढाइएको छ,” उनले भने, “यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याइनेछ ।”
बारा जिल्लाको भारतसँग सीमा जोडिएको कारण यहाँ चोरीपैठारीको गतिविधि उच्च हुने गरेको छ । दैनिक उपभोग्य वस्तु, मोबाइल उपकरण, इलेक्ट्रोनिक सामानलगायत विभिन्न सामग्री तस्करीका रुपमा सीमावर्ती क्षेत्र हुँदै भित्र्याउने प्रयास हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चौकसी कडा बनाउँदै आएको छ । पछिल्ला महिनाहरूमा बारा, पर्सा, रौतहट लगायतका जिल्लामा चोरीपैठारी नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको छ ।
प्रहरीले फरार व्यक्तिको पहिचान खुलाउने प्रयास तीव्र बनाएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
प्रतिकृया दिनुहोस