• शुक्रबार-जेठ-२३-२०८२

'अणु र पहाड' लघुकथा संग्रहको दोस्रो संस्करण प्रकाशित


काठमाडौं । जेठ २२  साहित्यकार रवीन्द्र समीरद्वारा लिखित चर्चित लघुकथा संग्रह ‘अणु र पहाड’ को दोस्रो संस्करण प्रकाशित भएको छ। ५६ वटा चोटिला र विचारप्रवण लघुकथाहरू समेटिएको यो कृति पैरवी बुक हाउसले पुनः बजारमा ल्याएको हो ।

 

‘अणु’ जीवनको सूक्ष्मता प्रतीक हो भने ‘पहाड’ विशालताको। यिनै दुई विपरीत तर जीवनका अभिन्न आयामहरूलाई समेट्दै समीरको यो संग्रहले नेपाली लघुकथा विधामा विशेष पहिचान बनाएको छ। हरेक लघुकथाले केही मिनेटको छोटो पढाइमै जीवनका यथार्थ, असंगतता र संवेदनालाई सशक्त रूपमा उजागर गर्छ ।

 

पुस्तकका बारेमा पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटी भन्छन्, "थोरै शब्दमा धेरै कुरा भन्न सकिने लघुकथा विधा आजको व्यस्त र डिजिटल युगमा सर्वाधिक पठनीय विधा बनिसकेको छ। यही मागलाई ध्यानमा राखेर हामीले ‘अणु र पहाड’ को दोस्रो संस्करण पुनः प्रकाशन गरेका हौं ।”

 

रवीन्द्र समीरका मृत्युको आयु, एकलब्यदृष्टि, अर्जुनदृष्टि, ईश्वरका कथा, भूकम्पमा मल्हमपट्टी, कोरोनातन्त्र, पैसाको उडान लगायत १४ वटा साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।

 

उनले पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभूषण पदकसहित दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

 

‘अणु र पहाड’ को दोस्रो संस्करण नेपाली साहित्य प्रेमी पाठकहरूका लागि पुनः एक प्रेरणादायी दस्तावेज बन्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस