• शुक्रबार-जेठ-२३-२०८२

नेपाली सेनाका क्याप्टेन थापा भन्छन्, 'उमेरमा राष्ट्रका लागि गरुङ्गो 'झोला' बोकेँ तर अहिले म 'झोला' बोक्न सक्ने अवस्थामा छैन !'

 

दिल्ली । मेरो काँधमा अझै झोला छ । तर यो झोला अब पहिलाजस्तो बन्दुकको भारी होइन, जीवन र मृत्युलाई टालटुल पार्दै बाँच्ने आशाको एउटा चुपचाप साक्षी बनिरहेको छ ।

 

मेरी आमाको निधार माथिको थाप्लोमा गाडिएको नाम्लोको डोब थियो । खेत जोत्न हिँड्दा बुवाको पटपटी कुर्कुच्चा फुटेको डाम । म भने त्यो सपना बोकेर झोला भिरेर नाइटबस चढेर काठमाडौँ आएको थिएँ । सपना थियो, केही बनेर फर्किने, केही बचत गरेर ती कुर्कुच्चा च्यातिएका पैतालामा आराम दिने ।

 

हो, मैले सैन्य जीवन रोजेँ । २०५७ सालमा देश र जनताको नाममा कसम खाएँ । अनि त्यही बेला संकटकाल लाग्यो । त्यो समयमा मेरो झोला भारी बन्थ्यो, भौतिक रूपमा पनि, भावनात्मक रूपमा पनि ।

 

गोलाबारुद, ग्रिनेड, रसद, बन्दोबस्तीका सामानहरू त थिए नै । तर तीभन्दा पनि भारी थियो—जसको लागि त्यो बोकेको थिएँ, त्यो "आशा"।


मेरो झोला कहिल्यै चिल्ला थिएन । तर त्यसमा कहिल्यै गुनासो पनि थिएन । त्यसमा देशको माटोको सुगन्ध थियो, जसलाई म कहिल्यै पनि र कुनै हालतमा पनि बेवास्ता गर्न सक्दिनथें ।

तर... अब त्यो झोला बोक्न सक्ने क्षमता म मा छैन । न त शारीरिक रुपमा न त भावनात्मक रुपमा । अहिले समय परिवर्तन भएको छ अनि मेरो शारीरिक अवस्था पनि । 


हुन त, अझै पनि मेरो काँधमा झोला छ, तर यो झोला उपचारको बिल, मेडिकल रिपोर्ट, र विदेशी अस्पतालको फारमले भरिएको छ ।


दुःखका साथ भन्नु पर्दा म अहिले क्यान्सरसँग लडिरहेको छु.…र राजीव गान्धी क्यान्सर हस्पिटल, दिल्लीमा उपचाररत छु—तर अझै आशा छ कि मलाई मेरो देशले बचाउने छ ।

 

प्रश्न गम्भीर छ ः

म त्यो सिपाही हुँ, जसले देशको लागि आफ्नो छातीमा गोली थाप्न तयार थियो ।

म त्यो छोरो हुँ, जसले आमाबुबाको दुःख हटाउने सपना बोकेको थियो ।

म त्यो नागरिक हुँ, जसको झोलामा “समृद्ध नेपाल, सुखी नेपाली”को नारा गुञ्जिएको थियो ।


तर आज म जीवन र मृत्युको दोभानमा उभिएको छु । दुई वर्ष भयो—परदेशमा, औषधीको भरोसामा, झोलाभरि रिपोर्ट बोक्दै आफ्नै जीवनको प्रार्थना गर्दैछु ।

 

मेरो अन्तिम प्रश्न छ सरकारलाई,

"मेरो देशको झोलामा… म जस्ता हजारौँ नेपालीलाई उपचारको अधिकार छ कि छैन ?"
"मेरो देशको झोलामा… जीवन रक्षा गर्न सक्ने सामाजिक सुरक्षा छ कि छैन ?"

 

सायद छैन... !

तसर्थ, म यो लेख्दैछु, मेरो स्वर थाक्दैछ... शरीर गल्दैछ... तर मन भने आँशु बनिरहेका सपनासँग बगिरहेको छ । मेरो जीवन रक्षाको लागि सबैसँग सहयोगको अपिल गरिरहेछु ….  !

 

(लेखक ढाल बहादुर थापा नेपाली सेनाको बहालवाला सहसेनानी हुन् । उनी क्यान्सर रोगसँग लडिरहेका छन् र हाल राजीव गान्धी क्यान्सर हस्पिटल, दिल्लीमा उपचाररत छन् )

फेसबुक आईडी https://www.facebook.com/d.b.thapa.basu


 

प्रतिकृया दिनुहोस