• शुक्रबार-जेठ-२३-२०८२

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक आकाश

 

चितवन, २१ जेठ : यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो ।

 
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आउनुभएको हो ।  पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

 

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आउनुभएका उहाँले धेरै क्यान्सर बिरामीका कथा सुन्नुभयो । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उहाँसँग पोख्थे । उहाँले भन्नुभयो, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा सुरु गरेँ ।” यही सोचले उहाँले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गर्नुभएको हो । उहाँले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आउनुभएको छ ।

 
उहाँले भन्नुभयो, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उहाँको अनुभव छ । त्यसैले उहाँले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताउनुभयो । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उहाँको अटो खोज्दै आउँछन्, त कतिपयलाई उहाँ आफैँले बस–बसमा गएर खबर गर्नुहुन्छ ।

 
दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उहाँले लिनुहुन्न । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उहाँले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउनुहुन्छ । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउनुहुन्छ र त्यही आम्दानीले परिवार चलाउनुभएको छ ।

 
विदेश जाने तयारीमा रहनुभएका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उहाँले प्रस्तुत गर्नुभएको छ । 
–––

प्रतिकृया दिनुहोस