• बुधबार-जेठ-२१-२०८२

संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम


डुम्रे (तनहुँ), २० जेठः सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो । 

    सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ । 
     
    सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्यसहित म्याग्दे-६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । उहाँले यहाँका युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
    
    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा)मार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ । सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको न्यौपानेले बताउनुभयो । 

    सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको बताउँदै उहाँले आर्थिक वर्ष २०८१/८२ मा ६८ जनालाई तालिम प्रदान गरिएको जनाउनुभयो । उहाँका अनुसार गरिबी निवारणका लागि तालिम सञ्चालनमा ल्याइएको हो ।           
    
    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, व्रवर्द्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने विश्वास लिनुभयो । तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जाने उहाँले बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सीपलाई प्रयोगमा ल्याएर कला, संस्कृतिको जगेर्ना गर्दै आयसँग जोडेर आत्मनिर्भर र स्वावलम्बी बन्नेतर्फ योजना बनाउन तालिममा सहभागीलाई आग्रह गर्नुभयो ।

    सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्नसके आम्दानीको स्रोत बनाउन सकिने म्याग्दे-६ का वडाध्यक्ष हिरालाल गुरुङले बताउनुभयो । उहाँले वडाले कला, संस्कृतिको संरक्षण र संवर्द्धनका लागि लक्षित समुदायलाई आवश्यक सीप सिकाउने कार्य गरिरहेको दाबी गर्नुभयो ।   
    
    गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताउनुभयो । रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष डिपी अधिकारीले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सञ्चालन गरिएको तालिमले सीपयुक्त भएर आत्मनिर्भरतातर्फ अगाडि बढ्न पैरित गर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका सीपको उपयोग गरी स्वरोजगार बन्न सुझाव दिनुभयो । 
    
    उद्यमशीलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नवप्रवर्द्धनलाई अवलम्बन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्नुलगायत लक्ष्य गाउँपालिकाको रहेको छ । पञ्चेबाजा तालिम म्याग्दे-६ मनपाङ र अकलामा सञ्चालन भइरहेको छ ।
---

प्रतिकृया दिनुहोस