काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पिउने पानी र ऊर्जाको प्रमुख स्रोतका रूपमा रहेको हिमशृङ्खलामा जलवायु परितर्वनबाट परेको असर न्यूनीकरण गर्न विश्वसमुदायकै ध्यानाकर्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिएकाले यसको संरक्षणका लागि विश्वसमुदायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खड्काले भन्नुभयो, “जसरी हिजोका दिनमा हिउँ पथ्र्यो, अहिले पर्न छाडेको छ । हिमताल तथा तालतलैयामा पनि यसको असर देखिएको छ, कतिपय हिमतालहरू फुट्ने खतरामा छन् । त्यसको संरक्षणका लागि अनुसन्धानलगायत काम सरकारले सुरू गरिसकेको छ ।”
नेपालको ऊर्जाको प्रमुख स्रोत जलस्रोत भएको हुँदा हिमालमा परेको असरले ऊर्जा क्षेत्रलाई पनि प्रभाव पार्ने बताउँदै उहाँले यसबाट हुने असर न्यूनीकरणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो । नेपालमा पर्वतीय पर्यटन र के कस्ता हिमालहरू रहेका छन् भन्ने कुरा तस्वीरले स्पष्ट पारेको जनाउँदै मन्त्री खड्काले नेपालमा केही पनि भएको छैन र हुँदैन भन्ने भाष्य चिर्नलाई समेत यस्ता प्रदर्शनीले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“नेपाल प्राकृतिक रूपमा सम्पन्न छ, नेपालमा हिमाललगायत प्राकृतिक सम्पदा छन्, यसको सदुपयोग गर्न सन्देश दिएको छ, आन्तरिक र बाह्य पर्यटनका लागि हिमालका दृश्यले आर्कषण गर्दै आएको छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर अघि बढ्न सकिने उहाँको भनाइ छ ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री खड्कालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस