सर्लाही, ७ जेठ । सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाइकलसहित १ जना मानिसलाई पक्राउ गरेको छ ।
सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाइकलसहित १ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन् । बिशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुुगेर कारबाही गरेको थियो ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले डाइनी खोलाबाट तामाङलाई प्लाष्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु.२२ प ३८९४ नम्वरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोली पुुग्दा गाँजाको कारोवारमा संलग्न अन्य मानिसहरू फरार हुन सफल भएका थिए। सोमबहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
फरार मानिसहरूको सम्वन्धमा अनुसन्धान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
प्रतिकृया दिनुहोस