काठमाडौं, २०८२ जेठ ६ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
चितवन जिल्लाको बेल्सीमा जन्मिएका प्रा.डा. विश्वनाथ पौडेल नेपालको आर्थिक नीति निर्माण र विकास योजनामा उल्लेखनीय योगदान पुर्याउने एक प्रखर अर्थशास्त्री, याे देशमा केही गराैं भन्ने हुटहुटी भएका व्यक्ति हुन् ।
प्राथमिक शिक्षा चितवनकाे बेल्सी, कलेज अमृसाइन्स, काठमाडाैं र चीनमा इन्जिनियरिङ अध्ययन गरेपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लीबाट कृषि र स्रोत अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका डा. पौडेल विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अर्थशास्त्रीको रूपमा क्रियाशील रहेका छन्।
हाल काठमाडौंमा वसोबास गर्दै आएका डा. पौडेल काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (KUSOM) मा भिजिटिङ एसोसिएट प्रोफेसरको रूपमा अध्यापनमा संलग्न छन्। साथै, उनी युलेन्स एजुकेशन फाउन्डेशनको बोर्ड अफ ट्रष्टी सदस्य र सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको संचालक समिति सदस्य पनि रहेका छन् । डा. विश्वनाथ पौडेलकाे परिवार ६३ वर्ष अघि(विक्रम सम्वत २०१५-१८) कास्की जिल्लाकाे धिताल गाउँबाट पूर्वी चितवनमा आएर बसाेवास गरेका हुन् ।
२०७८ साउन १२ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । यसअघि, उनले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा आर्थिक सल्लाहकार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) नेपालमा अर्थशास्त्री, र सानिमा बैंक लिमिटेडमा निर्देशकको रूपमा कार्य गरेका छन् ।
डा. पौडेल नेपाली कांग्रेस पार्टीसँग आबद्ध छन् र २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–१ बाट उम्मेदवार बनेका थिए । उनले राजनीतिमा प्रवेश गर्नुको कारण र आफ्नो दृष्टिकोणबारे विभिन्न अन्तर्वार्ताहरूमा स्पष्ट पार्दै आएका छन् ।
उनले नेपालको कृषि, माटो संरक्षण, रासायनिक मलको प्रयोग, र खाद्य सुरक्षाका विषयमा गहिरो चिन्ता व्यक्त गर्दै आएका छन्। उनी माटो र बिउ जोगाउने कुरामा जोड दिन्छन् । साथै, राज्यले सहकारी र साना समूहहरूलाई प्राथमिकता दिनुपर्ने, कृषिमा आधुनिकीकरण आवश्यक रहेको, र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ।
निष्कर्ष
गाउँबाट उठेर अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउन सफल नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेल एक बहुआयामिक व्यक्तित्व हुन् जसले शैक्षिक, प्राज्ञिक, प्रशासनिक र राजनीतिक क्षेत्रहरूमा सक्रिय भूमिका खेलेका छन्। नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा नियुक्त पौडेलको योगदानले नेपालको आर्थिक विकास र नीति निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस